एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जोसे मोरिन्होको टिम टोटनह्यामले उनको पूर्व टिम म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पारेको छ।
टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । २८ औँ मिनेटमा एन्थोनी मार्सल सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्नेका लागि ह्यारी केन र सन हेङ्ग–मिनले दुई–दुई गोल गरे । यस्तै एनडोम्बेले र औरिएरले एक–एक गोल गरे ।
दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेसले गोल गरी म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए। तर सो अग्रता जोगिन सकेन ।
एनडोम्बेलेले चौथो मिनेटमा टोटनह्यामका लागि बराबरी गोल गरे । सनले सात र ३७ औँ मिनेटमा गोल गरेका हुन्। यस्तै केनले ३० र ७९ (पेनाल्टी) औँ मिनेटमा गोल गरे भने औरिएरले ५१ औँ मिनेटमा गोल गरी टिमलाई शानदार जित दिलाएका हुन् ।
चार खेलबाट सात अंक जोडेको टोटनह्याम छैटौँ स्थानमा छ । तीन खेलबाट मात्रै तीन अंक जोडेको म्यानचेस्टर युनाइटेड १६ औँ स्थानमा छ ।