जनादेश, काठमाण्डौ ।

नेकपाका नेता, पूर्वसभामुख तथा दाङबाट प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने निर्णय ऐतिहासिक भएको बताउनु भएको छ । यस अघि अस्थायी राजधानी तोक्दा भएको गल्ती पनि सच्चिएको महराको भनाई छ ।
नेता महराले एक विज्ञप्ति जारी गर्दै प्रदेश सभाबाट प्रदेश नं. ५ को स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएकोमा खुसी व्यक्त गर्नु भएको हो । महराले लुम्बिनी प्रदेशबासी समस्त दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रदेशको राजधानी र नामका लागि आवश्यक पहलकदमी लिने सम्पूर्ण राजनीतिक नेतागण सबैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्नु भएको छ ।
“संघीयताको मर्म भनेकै आम नागरिकलाई राज्यको सेवा सुविधा र स्रोत साधन सहज रुपमा वितरण गर्नु हो । प्रदेश ५ को स्थायी राजधानी भौगोलिक रुपमा सबैलाई पायक पर्ने र बीच भागमा पर्ने दाङदेउखुरीमा राख्नुपर्दछ भनेर हामीले लामो समयदेखि भन्दै आएका थियौं । देशलाई ७ प्रदेशमा विभाजन गरी प्रदेशका अस्थायी राजधानी तोक्दा नै हामीले प्रदेश ५ को राजधानी दाङमा तोक्न पटक पटक आग्रह गरेका थियौं ।तर, त्यतिबेलाको सरकारले हाम्रो कुरै नसुनी प्रदेशको एक छेऊमा अस्थायी राजधानी तोकेर विवादको वीउ रोप्ने काम भएको थियो ।
प्रदेश सभाबाट प्रदेशको नाम र स्थायी राजधानी पारित भएसँगै संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको छ ।” महराको विज्ञप्तिमा भनिएको छ ।
