एजेन्सी ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्याण्डले छिमेकी वेल्समाथि सहज जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले वेल्सलाई ३-० गोल अन्तरले हराएको हो ।
वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डको जितमा डेब्यु खेल खेलिरहेका डोमिनिक काल्भर्ट लेविन, कोनर कोआडे र ड्यानी इंग्सले गोल गरे ।
२६औं मिनेटमा लेविनले डेब्यु खेलमा गोल गर्दै इंग्ल्याण्डलाई १–० को अग्रता दिलाए ।
५३औं मिनेटमा कोनर कोआडेले गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारे । ६३औं मिनेटमा ड्यानी इंग्सले गोल गरेपछि इंग्ल्याण्डले खेलमा ३–० को जित हासिल गर्यो ।
नेसन्स लिग ‘ए’ २ मा रहेको इंग्ल्याण्डले ११ अक्टोवरमा बेल्जियमको सामना गर्नअघि मैत्रीपूर्ण खेल भएको हो । इंग्ल्याण्डले अर्को खेलमा १५ अक्टोवरमा डेनमार्कसँग खेल्नेछ ।