हत्याका तीन आरोपित पक्राउ – Janadesh Daily | ePaper

हत्याका तीन आरोपित पक्राउ


राजविराज ।


सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती दाइमनदेवीको यही असोज १० गते हत्या भएको थियो । पक्राउ परेकामध्ये साहले ती महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो । “बाँकी दुई जनाले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।”

प्रहरीका अनुसार मृतक महिलाकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकाशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ । अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको दुई बिघा जग्गा अजय यादवको बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रतिवादी बमबादुर साह विगतमा मधेश मुक्ति टाइगर्स भन्ने सशस्त्र समूहमा संलग्न रही शिक्षक रामनारायण साहको हत्या गरेको अभियोगमा आठ वर्ष जेल सजाय भुक्तान गरी दुई वर्षअघि छुटेका थिए । साहलाई ओमप्रकाश यादव र अजय यादवले हत्यामा संलग्न गराएको समेत देखिएको प्रहरीको भनाइ छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्