सार्वजनिक यातायात आंशिक सुचारु – Janadesh Daily | ePaper

सार्वजनिक यातायात आंशिक सुचारु


नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले सवारी नचलाउने निर्णय गरे पनि काठमाडौं उपत्यकाका तीन ठूला कम्पनीले भने सवारी सञ्चालन गर्ने भएका छन् ।

साझा, मयूर र सुन्दर यातायातले भने सेवा सुचारु गर्ने जनाएका छन् । साझाले साउन १ गतेबाट सरकारले जारी गरेको निर्देशनको आधारमा सेवा सुचारु गर्ने जनाएको छ । “हामीले सरकारले जारी गरेको निर्देशनका आधारमा साउन १ बाट सेवा दिने छौं,” साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले भने, “अहिले आन्तरिक तयारी गर्दैछौं, पहिलो चरणका २५ प्रतिशतमात्र बस सञ्चालन गर्छाैं भने यात्रुको चापको आधारमा बस थप्दै जाने योजना साझाको छ ।”

यात्रुले यात्रा गर्दा मास्क, पञ्जा र खुला पैसा बोकेर भौतिक दूरी कायम गरी यात्रा गर्नको लागि पनि व्यावस्थापक पाण्डेले यात्रुलाई आग्रह गरेका छन् । साझा यातायातका ७१ बस रहेका छन् । यात्रुले स्वास्थ्य सुरक्षा अपनाएर मात्र यात्र गर्नको लागि व्यावस्थापक पाण्डेले सबै यात्रु वर्गलाई सुझाएका छन् ।

विद्युतीय बसबाट सार्वजनिक यातायातको सेवा प्रदान गरी रहेको सुन्दर यातायातले पुरानै भाडादरमा सेवा दिने भएको छ । सुन्दरले ४ वटा बिजुली गाडी चलाउने भएको छ । कोभिड–१९को महामारीमा सामाजिक उत्तर दायित्वअन्तर्गत रहेर सुन्दरले यात्रुलाई सेवा प्रदान गर्न लक्ष्यका साथ पुरानै भाडादरमा सेवा दिन थालेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

उनले भने, “सरकारले पुरानो भाडादरमा ५० प्रतिशत थपा भाडा लिन पाउने व्यवस्था गरेको भएपनि सुन्दरले पुरानो भाडादरमा नै सेवा दिने निर्णय गरेको छ ।”

सुन्दर यातायातले २ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा यातायात सेवा मंगलवारबाट सञ्चालन गर्दैछ । चालक सह–चालकले स्वास्थ्य सुरक्षाका सबै सामाग्री प्रयोग गरेर सेवा सञ्चालन गर्छौं,” अध्यक्ष थापाले भने, “यात्रुले पनि स्वास्थ्य सुरक्षाका सबै विधि अवलम्वन गरेर यात्रा गर्नको लागि आग्रह गर्दछु ।” यात्रामा माक्स अनिवार्य गरिएको छ भने, ६० वर्ष माथिकालाई यात्रुलाई निःशुल्क मास्क दिने निर्णय गरेको छ ।

यता, मयूर यातायातले २६ गतेबाट नै सेवा सुचारु गरेको छ । मयूर यातायातले उपत्यकामा २६ गतेबाट बस सञ्चालनमा ल्याएको छ । सरकारको निर्देशन पालना गदैं २६ गतेबाट नै सेवा सुचारु गरिएको कम्पनी अध्यक्ष मोहनबहादुर श्रेष्ठले बताए । उनले भने, “सरकारको निर्देशन पालना गदैं स्वास्थ्य सुरक्षा र निर्देशन लागुगरेर सेवा सुचारु गरेका छौं । सोमबार ६ बसबाट सेवा दिएको मंगलवारबाट १५ बसबाट सेवा दिन योजना बनाएका छौं ।”

यात्रुको चापका आधारमा कम्पनीले बस संख्या थपेर उपत्यकामा सेवा प्रदान गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठको भनाई छ । यसरी सञ्चालनमा ल्याइएका बसमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर बस सञ्चालन गरिएको श्रेष्ठको भनाइ छ । बसमा भैतिक दूरी कायम गरएको छ भने चालक, सहचालक र यात्रुलाई मास्क र पञ्जा अनिवार्य गरिएको छ ।

बसमा स्यानिटाइजर राखिएको छ ।
सार्वजनिक सवारी सञ्चालनको लागि सोमवार यातायात व्यावस्था विभागमा महासंघका पदाधिकारी बीच छलफल भएको छ । चाँडोभन्दा चाँडो सेवा सुचारु गर्नको लागि तयार रहेको र केही स्वास्थ्य सुरक्षाका मापदण्डहरुमा सरकारले सहजीकरण गरी दिन आग्रह गरिरहेका महासंघका महासचिव सरोज सिटैलाले बताए । उनले भने, “विभागमा सोमवार सकरात्मक वार्ता भएको छ ।

चालक सहचालकका स्वास्थ्य सुरक्षाका विषयमा हाम्रो माग राखेका छौं विभाग हाम्रो मागमा सकारात्मक छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्