सुनसरीको सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई जना घाइते – Janadesh Daily | ePaper

सुनसरीको सीमावर्ती क्षेत्रमा तस्कर र प्रहरीबीच गोली हानाहान, दुई जना घाइते


इनरुवा (रासस) :

सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।

गोलाबारीमा परी दुई जना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताउनुभयो । घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ ।

भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको अधारमा जेकजाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

हतियार लिएर आइरहेकाबाट प्रहरीले हतियार खोस्न थालेपछि प्रहरीमाथि भारतीय समूहले गोली चलाएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

सोही क्रममा प्रहरी र भारतीय तस्कर समूहबीच झडप भएको प्रहरीले जनाएको छ । तस्करका साथबाट प्रहरीले एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरेको छ ।

तीन जना भारततर्फ फरार भएको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते भएका र फरार भएका तस्करी, लागुऔषधको कारोवार, हतियारको तस्करी, चोरीलगायत कार्य गर्दै आएको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्