एजेन्सी ।
आगामी विश्वकपका लागि भैरहेका छनोट खेलमा अर्जेन्टिनाले लगातार दोस्रो जित निकालेको छ । विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत मंगलबार राति बोलिभियाको मैदानमा भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि २–१ गोलको जित निकालेको हो ।
अर्जेन्टिनाको जितमा लाउटारो मार्टिनेज र जाओक्वीन कोरेर्राले समान एक–एक गोल गरे । बोलिभियाका लागि मार्सेलो मार्टिन्स मोरेनोले एक गोल गरे ।
खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २४औं मिनेटमा मोरेनोले गोल गर्दै बोलिभियालाई अग्रता दिलाए ।
४५औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई बराबरीमा फर्काए । ७९औं मिनेटमा मार्टिनेजकै पासमा कोरेर्राले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।
जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ । यसअघि उसले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो ।