पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजा विरुद्ध प्रदर्शन – Janadesh Daily | ePaper

पोल्याण्डमा राष्ट्रपति निर्वाचनको नतिजा विरुद्ध प्रदर्शन


रासस/सिन्ह्वा० ः

पोल्याण्डमा राष्ट्रपति चयनका लागि भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल त्रजास्कोवस्कीको तर्फबाट विरोध प्रदर्शनसहित सर्वोच्च अदालतमा उजुरी समेत दायर गरिएको छ ।

उजुरीमा बर्तमान राष्ट्रपति समेत रहनु भएका र अहिलेको निर्वाचनबाट फेरी निर्वाचित भएको घोषणा गरिएका अन्ड्रजेज डुडाको पक्षमा धाँधली गरिएको उल्लेख गरिएको छ ।

उनीहरुले अहिलेको नतिजालाई अस्विकार गरिने घोषणा समेत गरेका छन् । गत आइतबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डुडाको पक्षमा ५१।०३ प्रतिशत र अर्का उम्मेदबार त्रजास्कोवस्कीको पक्षमा ४८।९७ प्रतिशत मत परेको घोषणा गरिएको थियो ।

दुई उम्मेदबारका बीचमा झिनो मतान्तर देखिएकाले पनि विवाद चर्किएको र केही धाँधलीको आशंका गर्न सजिलो भएको विश्लेषकहरुले बताएका छन् ।

चुनाव प्रचारप्रसार अभियानका क्रममा बर्तमान राष्ट्रपति डुडाको पक्षमा राज्यका निकायहरु परिचालित भएको विपक्षीहरुले आरोप लगाएका छन् । उनीहरुले उजुरीमा यही कुरालाई मुख्य रुपमा उल्लेख गरेर धाँधली भएको जिकिर गरेका हुन् ।

विपक्षीहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दल सिभिक कोलिसनका सांसद बार्बारा नोवाचाले भन्नुभयो, “डुडाको पक्षमा राज्य शक्ति र श्रोत साधन नै परिचालन गरिएकाले धाधली भएको स्पष्ट देखिएको छ, त्यसैले हामीले यसलाई अस्विकार गर्ने भएका हौँ ।”

पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म र साना विपक्षी दलहरु मिलेर सिभिक कोलिसन बनाएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्