ओलीसँग प्रचण्डको मन भाँचिने कात्तिक ४ गते रातिको त्यो अन्तिम संवाद – Janadesh Daily | ePaper

ओलीसँग प्रचण्डको मन भाँचिने कात्तिक ४ गते रातिको त्यो अन्तिम संवाद


जनादेश वाच ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद टुटेको २ साता हुन लागेको छ । न भेटघाट न टेलिफोन संवाद नै ।

ओलीले मनोमानी नरोकेपछि प्रचण्ड अब एकल संवाद नगर्ने र बारम्बार बालुवाटार नजाने मनस्थितिमा पुगेका छन् ।

ओलीको मनोमानीको फेहरिस्त लामो छ तर पछिल्लो पटक प्रचण्डको मन भाँचिने प्रकरण बनेको छ कर्णाली प्रदेशको किचलो र ओलीको हस्तक्षेप ।

ओली र प्रचण्डबीच कात्तिक ४ को राति नौ बजेतिर दुई नेताबीचको छोटो टेलिफोन संवाद तिक्कतापूर्ण बनेपछि संवादहीनता पैदा भएको हो ।

प्रचण्ड निकट एक नेताले जनादेशलाई दिएको जानकारी अनुसार टेलिफोनमा ओलीले प्रचण्डलाई आक्रोशित हुँदै भनेका थिए, ‘तपाईंले किन खण्डन विज्ञप्ति जारी गर्न लगाउनुभो, यो के तरिका हो ?’ । तर जवाफमा प्रचण्ड पनि कड्किँदै, ‘सहमति नभइसकेका विषयमा तपाईंले चाहिँ किन सल्लाहकारबाट विज्ञप्ति निकाल्न लगाउनुभो, कहिल्यै निष्कर्ष नआउने, पार्टी निर्णय कार्यान्वयन नहुने भेटघाट र छलफलको अब औचित्य छैन”, भन्ने जवाफ फर्काएका थिए ।

ओली–प्रचण्डबीच बालुवाटारमा भएको वार्तामा कर्णाली प्रदेशको समस्या समाधानबारे सहमति जुटे पनि दुवैका तर्फबाट फरक–फरक प्रेस नोट जारी भएपछि तिक्तता संवादहीनतातर्फ उन्मुख भएको थियो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच चारबुँदे सहमति भएको दाबीसहित प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गरेका थिए । तर, पौने घन्टाकै बीचमा प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अलग्गै विज्ञप्ति जारी गर्दै सहमति नभएको दाबी गरेपछि दुई अध्यक्षबीचको तिक्तता संवादहीनतामा रूपान्तरण हुँदै गएको थियो।

प्रचण्ड रिसाएपछि ओली निकट नेताहरु दैनिकजसो प्रचण्डलाई भेट्न खुमलटार पुग्ने गरेका छन् तर प्रचण्डले ओलीसँग एकल संवाद र थप सहमतिको औचित्य नै नदेखिएको जवाफ दिने गरेका छन् ।

पार्टी कमिर्टीले गरेका निर्णय प्रधानमन्त्रीले मान्छु भन्दै सहमति गरेपनि एकपछि अर्को गर्दै सहमति लत्याउन थालेपछि प्रचण्ड निक्कै चिढिएका हुन्।

बुधबार बिहान प्रचण्डलाई भेट्न अर्थमन्त्रीसमेत रहेका महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए भने दिउँसो स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ त्यहाँ पुगेका थिए।

नेताहरुले पार्टीभित्रको विवाद समाधान गर्न दुई अध्यक्ष संवादमा बस्नुपर्ने आग्रह गर्दै आएका छन्। प्रचण्ड र माधव नेपाल रिसाएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने ओली पक्षको अनुमान छ । यही भयले उनीहरुलाई सताएको बताइन्छ ।

यो पनि पढ्नुस्_ 

ओलीसँग एकल संवाद नगर्ने प्रचण्ड अडान, अविश्वासको तयारी भन्दै झस्कियो बालुवाटार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्