फुट्ने धम्की दिएर एकलौटी गर्ने ओलीको रणनीति, प्रचण्ड-नेपाल पक्ष निर्णायक कदमको तयारीमा – Janadesh Daily | ePaper

फुट्ने धम्की दिएर एकलौटी गर्ने ओलीको रणनीति, प्रचण्ड-नेपाल पक्ष निर्णायक कदमको तयारीमा


जनादेश विश्लेषण
गत असारमा सुरु भएर भदौमा मत्थरिएको भनिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको अन्तरकलह पुनः छताछुल्ल भएको छ ।

गत भदौ २५ गतेको स्थायी कमिटी बैठकको निर्णयबिपरित राजदूत नियुक्ति, कर्णलीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता, केन्द्रीय मन्त्रिपरिषद्मा हेरफेर, भारतीय जासुसी संस्थाका प्रमुखसँगको भेट लगायत विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपीशर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चरम असहमति हुँदा त्यसले पार्टी एकता संकटमा पुनः धकलेको हो।

सत्ताको भागबण्डालाई लिएर नेतृत्वदेखि प्रदेश तहसम्म पुगेको विवाद अब पार्टी एक रहने कि फुट्ने भन्ने तहमा ओर्लिएको संकेत देखिएका छन् ।

ओली पक्षका आफ्ना भएपनि इतर पक्षलाई समेत विश्वासमा राख्दै आएका नेकपा महासचिव विष्णु पौडेलले आइतबार सार्वजनिकरुपमै पार्टी एकता संकटमा रहेको बताए ।

महासचिव पौडेलले फेसबुकमा नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन नसक्ने जिकिरसमेत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झाँगिन पुगेको चरम कटुता र अब पार्टी पंक्तिले संवादका लागि उनीहरुलाई दबाब नदिए पार्टी विभाजान हुने सन्देश पनि सार्वजनिक गरे ।

दिउँसो यस्तो अभिव्यक्ति दिएका नेता पौडेल बेलुकी अर्का नेता वर्षमान पुनसहित प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। त्यहाँ पुगेर आफूहरूले प्रचण्डलाई पार्टी एकता जोगाउन आग्रह गरेको नेता पुनले बताएका छन्।

त्यस्तै आइतबार साँझ नै पार्टी प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा देखिएको व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले कुनै पनि विषयको समाधान ननिकाल्ने बताएका छन्। नेकपामा देखिएको पछिल्लो विवादका विषयमा आइतबार साँझ फेसबुकमा स्टाटस लेख्दै नेता श्रेष्ठले यस्तो उल्लेख गरेका हुन्।

नेकपा फुट्दा देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुको चाहाना पूरा हुने भएकाले पार्टीमा फुट निम्तिने काम नगर्न र समयमा सोच्नसमेत उनले नेतृत्वलाई आग्रह गरेका छन्। ‘जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौँ,’ फेसबुकमा श्रेष्ठले लेखेका छन्।

आइतबार दिउसो नै खुमलटारमा बसेको ओली इतर समूहका नेताहरुको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले शनिबारको भेटमा ओलीले सहमतिमा अघि नबढ्ने हो भने अब अलगअलग हिड्नुको विकल्प नरहेको भन्दै पार्टी फुटाउने चेतावनी दिएको ‘ब्रिफिङ’ गरेका थिए ।

खुमलटार भेलाको निष्कर्षः ओलीलाई विदा गर्नुपर्छ

खुमलटार भेलाले ओलीको चाहना अनुसार पार्टी नफुटाउने बरु तत्काल सचिवालय बैठक बोलाएर ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट बहुमतले हटाउनुपर्ने धारणामा सहमति देखिएको श्रोतले बताएको छ ।

पदको बार्गेनिङ नगर्ने तर ओलीलाई पार्टीका निर्णय र सहमति पालना गराएरै छोड्नु पर्ने तीन नेताहरुको निष्कर्ष छ । यद्यपि ओलीले आफ्नो पद जोगाउन पुनः दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्नेबारे पनि नेताहरुले औल्याएका थिए ।

एकलौटी गरिरहने र त्यो गर्न नपाए पार्टी फुटाउने धम्की दिएर इतर पक्षलाई साइजमा राख्ने रणनीति अख्तियार गरेको हुनसक्ने पनि प्रचण्ड-नेपाल पक्षको बुझाइ छ । तर यस्तो रणनीति सधैं काम नलाग्ने र ओली नै पार्टी फुटाउन लागिपरेपछि अरु नेताहरु पनि चुप लागेर नबस्ने ओलीइतरका नेताहरुले बताए। अब ओलीविरुद्धको मोर्चाबन्दी निर्णायक हुने उनीहरुको भनाई छ ।

अफ्ठेरो पर्दा पूर्वएमाले भन्ने र सजिलो हुनासाथ प्रचण्डलाई मनाएर आफूहरुलाई पेल्ने कुरा बुझेको माधव नेपाल पक्षका एक नेताले जनादेशलाई बताए । अब ओलीलाई या त विदा हुने या त पार्टी निर्णयमा चल्ने एकमात्र विकल्प मात्र रहेको उनले बताए ।

 

यो पनि हेर्नुस्- तोडियो ओली-प्रचण्ड संवादहीनता, भना‍-भनपछि प्रचण्डको नयाँ अडानले अफ्ठेरोमा ओली

ओलीसँग प्रचण्डको मन भाँचिने कात्तिक ४ गते रातिको त्यो अन्तिम संवाद

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्