पूर्वमाओवादी नेता तान्ने ओलीको दाउ बुझेपछि विच्किएका थिए प्रचण्ड – Janadesh Daily | ePaper

पूर्वमाओवादी नेता तान्ने ओलीको दाउ बुझेपछि विच्किएका थिए प्रचण्ड


जनादेश वाच ।

प्रधानमन्त्री केपी ओलीको मनोमानी नरोकिएपछि सत्तारुढ नेकपाभित्र फेरि रडाको चलिरहेको छ । विवाद अन्त्य भएको ठानिएको डेढ महिना नबित्दै नेकपाको एकता पुनः धरमराएको छ ।

केहीदिन यता ओलीले अब सँगै बस्न नसकिने भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ठूलै एक्सन’को तरवार देखाइरहेका छन् ।

सके थर्काउने नसके फकाउने रणनीतिमार्फत एकलौटी गर्दै आएका ओलीसँग यस पटक वारपार नै गर्ने कि भन्ने मुडमा प्रचण्ड पुगेको बताइएको छ ।


प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले ओलीको घमण्डले सीमा नाघेका कारण उनलाई अव दुई मध्ये एक पदबाट विदा गर्नैपर्ने निष्कर्षमा पुगेका छन् । यसैबीच संसदीय दल र केन्द्रीय समितिमा बहुमत पुग्ने/नपुग्ने हिसाबकिताब सुरु भैसकेको छ ।

यद्यपि यसको सुरुवात भने लामो असन्तुष्टिको श्रृंखलासँग जोडिएको छ । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार मान्दै गत २६ भदौमा भएको स्थायी कमिटी बैठकको निर्णयविरूद्ध ओली अघि बढेको भन्दै प्रचण्ड–माधव समूह रुष्ट छ । विवादको पछिल्लो सिलसिलामा प्रधानमन्त्री ओलीले गरेको राजदूत सिफारिस, मन्त्री हेरफेर, रअका प्रमुखसँगको भेट जोडिए पनि ओली र प्रचण्डबीच शक्ति संघर्ष निरन्तर छ ।

पछिल्लो कडी प्रचण्डपक्षीय नेता थुत्ने ओलीको प्रयास

ओलीले आफुसँग निकट पूर्वमाओवादी समूहकै नेताहरुलाई आफूविरुद्ध प्रयोग गर्न खोजेपछि प्रचण्ड आक्रोशित भएर १२ दिनसम्म ओलीसँग भेटवार्ता नै नगरेको र पछि सचिवालय बैठकको माग गरेको प्रचण्ड निकट नेताहरुको छ।

पूर्वमाओवादी समूहका नेतालाई सल्लाहै नगरी मन्त्री बनाउने र आफूविरुद्ध लागेकाहरुलाई नहटाउने तयारी गरेपछि प्रचण्डले ‘एक्सन’ लिएको उनी निकट एक नेताले जनादेशलाई बताए ।

प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर साहीलाई हटाउने खेलबाट सुरु भएको विवादको श्रृंखला प्रधानमन्त्री ओलीले नामै तोकेर पूर्वमाओवादीका तीन जना नेता हरिबोल गजुरेल, टोपबहादुर रायमाझी र प्रभु साहलाई मन्त्री बनाउने तयारी गरेको थाहा पाएपछि प्रचण्डले सम्बन्ध टुट्ने चेतावनी दिएका थिए ।

उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई हटाउने तर प्रचण्डले हटाउन भनेका रामबहादुर थापा र लेखराज भट्टलाई कायमै राख्ने ओलीको रणनीतिले प्रचण्डलाई क्रुद्ध तुल्याएको हो ।

प्रचण्डले प्रदेश २ बाट मात्रिका यादवलाई समेट्नुपर्ने सुझाव दिएपनि ओलीले ठाडै अस्वीकार गरेका थिए। प्रचण्ड र पूर्व एमालेबाट माधवकुमार नेपालको समूह मिलेर अगाडि बढेपछि पूर्व माओवादीका नेता र सांसदहरू तानेर आफ्नो शक्ति र सरकार बलियो बनाउँदै जाने योजना अनुसार ओलीले त्यो प्रयास गरेको खुमलटार निकट नेताहरूको दाबी छ।

यसअघि पार्टी झण्डै विभाजन हुने गरी विवाद उत्कर्षमा पुग्दा रायमाझी, गजुरेल र साहले प्रधानमन्त्री ओलीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए। रायमाझी, गजुरेल र भट्टले प्रचण्डलाई अप्ठेरो पर्ने र प्रधानमन्त्रीलाई सहज हुने गरी अभिव्यक्ति दिएका थिए । मन्त्री बन्न रोकेको भन्दै गजुरेल र रायमाझी यतिबेला प्रचण्डसँग असन्तुष्ट रहेको नेताहरुको भनाइ छ।

अब ओलीलाई हटाउनका लागि संख्याको खेल सुरु हुने अनुमान गरिएको छ । तिहारअघि दुई पक्षबीच बैठकको रस्साकस्सी चल्ने देखिन्छ भने संख्याको चलखेल तिहारपछि हुने नेकपाका नेताहरूको अनुमान छ ।

कस्को पल्ला भारी
नेकपामा सभामुखसहित १ सय ७४ जना सांसद छन् । अग्निप्रसाद सापकोटा सभामुख बनेको र समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण १ सय ७२ जना सांसदको विद्यमान संख्या छ । पूर्वएमाले समूहबाट १ सय २१ र पूर्वमाओवादी समूहबाट ५३ जना सांसद छन् । नेकपा संसदीय दलमा बहुमत पुर्‍याउन ८७ जना आवश्यक पर्छ ।

पूर्वएमालेका १ सय २१ मध्ये प्रधानमन्त्री ओलीको साथमा ७८ जना सांसद रहेको दाबी गर्ने गरिएको छ । बामदेव गौतमनिकट सांसद ओलीको पक्षमा मौन देखिन थालेपछि ओलीको संख्या घट्ने संभावना पनि छ ।

संसदीय दलको नेता हटाउने तयारीमा पूर्वमाओवादीका टोपबहादुर रायमाझी, लेखराज भट्ट, हरिबोल गजुरेल, प्रभु साहलगायतका केही सांसद ओलीको पक्षमा लाग्ने अनुमन गरिएको छ । रौतहटका साह नेता नेपालसँगको असन्तुष्टिका कारण प्रचण्ड-नेपाल समूहमा सक्रिय छैनन् । यद्यपि उनी प्रचण्डसँगै रहेको बताइन्छ ।

पूर्वएमाले समूहमा नेपाल पक्षमा ४२ जना सांसद रहेको दाबी छ । र, पूर्वमाओवादी अर्थात् प्रचण्ड समूहमा ५३ जना सांसद छन् । त्यसरी हेर्दा ९५ जना सांसद यो समूहको हुन्छ र बहुमत सहजै पुग्ने देखिन्छ । पूर्वमाओवादीका केही संख्या ओली समूहमा जाँदा पनि बहुमतका लागि आवश्यक ८७ सिट पुर्‍याउन सकिने आँकलन प्रचण्ड-नेपाल पक्षको छ ।

यद्यपी ओलीले ठूलै एक्सन भन्दै बारम्बार तर्साउन खोजेपछि परिस्थितिका सबै सम्भावित परिणाम हेरेर मात्र एक्सनमा जाने प्रचण्ड-नेपाल समूहको तयारी छ ।

यो पनि हेर्नुस्- 

फुट्ने धम्की दिएर एकलौटी गर्ने ओलीको रणनीति, प्रचण्ड-नेपाल पक्ष निर्णायक कदमको तयारीमा

ओलीसँग प्रचण्डको मन भाँचिने कात्तिक ४ गते रातिको त्यो अन्तिम संवाद  

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्