आधा आकाशलाई हेर्ने दृष्टिकोण – Janadesh Daily | ePaper

आधा आकाशलाई हेर्ने दृष्टिकोण


दर्शन अधिकारी । 

हाम्रो समाज पितृसत्तात्मक रहेको छ । कुनै पनि कार्यका लागि पुरुषको निर्णय निर्णायक बन्छ । देशको कूल जनसंख्याको एकाउन्न प्रतिशत जनसंख्या रहेको महिलालाई समाजमा दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिन्छ ।

नारीलाई आधा आकाश एउटै रथका दुई पाङग्रा भन्ने गरिन्छ, तर व्यावहारमा भने विभेदपूर्ण र कतिपय समयमा त अमानवीय व्यावहार गर्ने गरिन्छ । सृष्टिको सिर्जना, संसारको सञ्चालनमा महत्वपूर्ण योगदान दिने महिला वर्गलाई हरेक क्षेत्रमा विभेद गरिन्छ ।

पछिल्लो समयमा महिला अधिकारमा सकारात्मक सुधार आएको छ । राजनीति निजामती पेशा व्यावसाय सञ्चालन न्यायलय आदिमा महिलाको प्रतिनिधित्व उल्लेख मात्रामा वृद्धि भएको छ ।

आजको एक्काइसौं सताब्दीमा आइपुग्दा समेत अन्धविश्वास र रुढिवादी सोचाइले गर्दा महिलाले क्रुरतापूर्ण हिंसा र अमानवीय व्यावहारको सामना गर्नु परिरहेको छ ।

बोक्सीको आरोपमा मानव मलमूत्र खुवाउने, शारीरिक यातना दिने, जीवितै जलाउने सम्मका घटना घट्ने गरेका छन् । अहिले पनि घरपरिवारमा महिलाको कुनै पनि निर्णयले स्थान पाउन सकेको छैन ।

सम्पत्तिमा अधिकार प्रजनन अधिकार शिक्षाको अधिकार स्वास्थ्यको अधिकार, न्यायको अधिकारजस्ता विविध क्षेत्रमा संविधानले अधिकार दिए पनि शिक्षाको अभावका कारण ती अधिकार सहज रुपले उपयोग गर्न भने सकिरहेका छैनन् ।

महिलालाई हरेक क्षेत्रमा समान अवसर र स्वतन्त्रता दिने हो भने पुरुषभन्दा कुनै पनि क्षेत्रमा उनीहरु कमजोर हुँदैनन् भन्ने धेरै ठाउँमा प्रमाणित भैसकेका छन् । महिलाप्रति गरिने व्यावहारकै कारण धेरै घटना हिंसासँग सम्बन्धित छन् र अमानवीय प्रकृतिका कार्य हुने गरेका छन् ।

अहिले पनि अधिकांश मानिसले महिलाले सन्तान उत्पादनको कारखानासम्झने गरेका छन् । उनीहरुले प्राप्त गर्ने पारिश्रमिकमा समेत विभेद हुने गरेको छ । सम्पत्तिमा समेत विभेद हुने गरेको छ ।

सम्पत्तिमा अधिकार नहुने, प्रजनन अधिकारको सुरक्षा नहुने कुराले पनि महिला हिंसाका घटना बढेका छन् । महिलाले पाउने विभिन्न अधिकार संविधानले सुनिश्चत गरेको भएपनि व्यावहारमा त्यसको निर्वाध रुपले उपयोग हुन सकिरहेको छैन ।

महिला हिंसाका घटना बढ्दै गएको प्रति चिन्ता र चासो राख्दै विगत दुई दशकदेखि महिलाका हकअधिकार र हितका सवालका व्यापक चर्चा गोष्ठि, सेमिनार र सचेतता कार्यक्रम सञ्चालन गरिदै आएका छन् ।

तै पनि उनीहरुले प्राप्त गर्ने सामान्य अधिकार समेतबाट बन्चित रहेका छन् । संविधानसभाबाट जारी भएको नेपालको संविधानमा मौलिक हकको रुपमा महिला हकलाई राखिएको छ ।

जसमा महिलाको शिक्षा स्वास्थ र रोजगारीको विशेष व्यवस्था गरी राष्ट्रिय विकासमा आधिकारिक सहभागी गराउने नीति राज्यले अवलम्बन गर्ने भन्ने उल्लेख गरिएको छ ।

गत २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उल्लेख्य मात्रामा महिला प्रतिनिधित्व भएको छ, जुन नेतृत्वमा महिला सहभागिता हुनु सकारात्मक पक्ष हो ।

स्थानीय तहदेखि नै महिला नेतृत्व विकास गर्दै राज्यका हरेक तहमा महिलाको सहभागिता बढाउँदै लैजानु पर्छ ।

पछिल्ला समयमा कुनै समिति गठन गर्दा तेत्तीस प्रतिशत महिला सहभागी हुुनु पर्ने व्यावस्था निजामती लखामा ३३ प्रतिशत महिला सहभागी हुनु पर्नेजस्ता प्रावधानले महिलाको नेतृत्व र हरेक क्षेत्रमा राम्रो उपस्थिति हुँदै गएको छ ।

देशमा सभामुख राष्ट्रपति, प्रधान न्यायधीशजस्ता महत्वपूर्ण तहमा महिला नेतृत्व हुनु पनि सकारात्मक सवाल भएको छ । महिला हिंसा न्यून गर्ने उद्देश्यका साथ स्थापित विभिन्न सरकारी तथा गैरसरकारी संस्था छन् ।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, राष्ट्रिय महिला आयोग, महिला शाखा, विभिन्न महिलासँग संगठन लगायतका गैरसरकारी संस्था दर्जनौ कार्यरत छन् ।

महिला सशक्तीकरणकै सवालमा भन्नुपर्दा सन १९९५ मा चीनको राजधानी बेइजिङमा अन्र्तराष्ट्रिय महिला सम्मेलनको आयोजना गरिएको थियो । सोही सम्मेलनपश्चात् नेपालमा पनि महिलाका पक्षमा बढी कानुनको खोजी गरी महिला सशक्तीकरणका लागि विविध कार्य सम्पादन हुन थालेको देखिन्छ ।

समाजमा महिलाको स्थान उच्च बनाउनुका लागि संगठितरुपले विकृति र विसंगति निराकरण गर्न सबै नागरिक सचेत हुनै पर्छ । महिला हिंसा र विभेदका कुरा गर्दा बोक्सीको नाममा आज पनि सयौं महिलाले क्रुर यातनाको सामना गर्नु परिरहेको छ ।

बोक्सी भन्ने पहिलो कुरो त अन्धविश्वास हो भने दोस्रो सबाल बोक्सीको आरोप केही अपवादबाहेक सबै महिलालाई मात्र लाग्ने गरेका छन् । यी सबै भनेको पुरुष प्रधान समाजको प्रतिफल नै हो भन्नेमा विमति रहँदैन ।

अर्को महत्वको सवाल भनेको हाम्रो समाज कतिसम्म विभेदकारी छ भने लोग्नेको मृत्युपछि स्वास्नीचाँहि आजीवन विधवा नै रहनुपर्ने तर श्रीमतीको मृत्यु भएको तेह्रदिन नबित्दै अर्की श्रीमती ल्याउने छुट दिन्छ ।

यसलाई बिडम्बना नै मान्नुपर्छ हाम्रो समाजको अन्धविश्वास रुढिवादीले गलत परिपाटीका कारण महिला पुरुषको दबाबमा रहन बाध्य बनाइएका छन् । छोरी मात्रै जन्माएको भनेर सौता भिœयाउने समाज पनि हाम्रै हो ।

जब कि छोराछोरी जन्माउने कार्यमा महिलाको भूमिका वैज्ञानिक हिसाबले हुँदैहुँदैन । आजको प्रविधिको युगमा पनि हामी भने सत्रौ शताब्दीकै व्यवहारमा अलमलिएको हौं ।

हरेक क्षेत्रमा महिलालाई अगाडि वढाउनुपर्ने जिम्मेवारीबाट हामी पछाडि हट्नु हुँदैन संविधानले दिएका अधिकार निर्वाध रुपले उपभोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ ।

निजामती क्षेत्रमा, राजनीतिमा विविध खालका समिति गठनमा महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ, जुन सकारात्मक पक्ष हो । हामीले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्छ ।

अवसर पाएमा पुरुष सरह हरक्षेत्रमा महिला सक्षम छन् भन्ने कुरा धेरै दृष्टान्तले पुष्टि गरेका छन् । हाम्रो नागरिक समाज घर, परिवार सबैले आआफ्नो स्थानबाट महिलालाई सम्मान र समान अवसर दिने सवालमा सकारात्मक सोँचका साथ महिलामैत्री बनाउँदै लैजानुपर्छ ।

आजका दिनमा पनि बलत्कारका घटना उस्तै देखिन्छ । समाजमा आपराधिक कार्य भैरहेकै छन् । सर्वत्र अराजकता अनि अनियमितता थपिने वातावरण निर्माण गरिन्छन् ।

स्वार्थले सबैलाई तानेको देखिन्छ । हरेक काममा कमिसनका विषय जोडिएका हुन्छन् । किशोरदेखि बृद्धसम्मकाले त्यसैले आकर्षित गरेमा मात्र काम गर्ने शैलीको विकास भएर गएको छ । यो दुःखद पक्ष पनि हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्