द्वन्द चर्काउने ओलीको मुड, टेलिभिजनमा भने- हामी बिदा लिउँ, नयाँ पुस्तालाई जिम्मा दिउँ – Janadesh Daily | ePaper

द्वन्द चर्काउने ओलीको मुड, टेलिभिजनमा भने- हामी बिदा लिउँ, नयाँ पुस्तालाई जिम्मा दिउँ


जनादेश वाच ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र जारी विवादलाई थप चर्काउने र प्रतिस्पर्धीहरुलाई कमजोर पार्ने रणनीतिमा देखिएका छन् ।

सचिवालय बैठक बोलाउन माग गर्दै शनिबार बालुवाटार पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका ५ नेताहरूको टोलीले ओली भिड्ने मुडमा देखिएको विश्लेषण गरेको हो ।

समस्या समाधानको लागि छलफल गर्न भन्दै नेताहरूले तत्काल सचिवालय बैठक बोलाउन लिखित आग्रह गरेपनि ओलीको रुखो जवाफले उनी सहमतिको पक्षमा नरहेको सचिवालयका एक सदस्यले जनादेशलाई बताए ।

सचिवालयका बहुमत सदस्यले शुक्रवार पार्टी कार्यालयमै भेला गरी ओलीसँग सामूहिक भेट गर्ने निर्णय गरेका थिए ।

टेलिभिजनबाट ओलीको सन्देशः मैले पद छोड्ने भए नयाँ पुस्तालाई दिउ

ओलीले शनिबार राति एपीवान टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आफू पार्टी फुटाउने पक्षमा नरहेको र पद पनि नछोड्ने बताए । उनले अहिलेको अवस्थामा आफ्नै पुस्ताका नेताहरुलाई पद नछाड्ने बरु नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् ।

ओलीले प्रचण्ड-नेपाल पक्षले निरन्तर झालझेल गरिरहेको आरोप लगाएका छन् । ‘कति अनाधिकृत बैठकहरू बसेका छन्, अहिले धन्न पार्टी कार्यालयमा बैठक बसेछ, ठिकै छ तर त्यो पनि उचित भएन । गुटका निर्णय कार्यान्वयन गर्न सचिवालय आवश्‍यक पर्दैन’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले पार्टी एकताको लागि आफूले धेरै प्रयास गरेको दाबी गरे । पार्टी एकताका लागि तत्कालीन समयमा हैसियत नभएकालाई पनि हैसियत दिएको उनको संकेत छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डले अस्थिरता निम्त्याएको आरोप पनि लगाए। स्थिरता दिनको लागि पार्टी एकता गरिएको र संविधानले २ वर्ष अविश्वासको मत हाल्न नपाउने व्यवस्था गरेको अवस्था र एकतापछि अविश्वास हाल्ने दल नै नभएको अवस्थामा पनि २ वर्ष पर्खेर बसेको उनको भनाइ छ । उनले हरेकको कुरामा सत्ताको साझेदार आफू भएको भन्दै त्यसैगरी सत्ता सञ्चालन गर्ने प्रयास प्रचण्डबाट भएको समेत बताए ।

“३२–३३ वर्ष अध्यक्ष भैसकेका साथीको फेरि अध्यक्ष हुने, प्रधानमन्त्री भैसकेका साथीहरूलाई फेरि पनि प्रधानमन्त्री हुने रहर किन जाग्छ?” भन्दै प्रश्न गरेका ओलीले भने, “अब ६० आसपासको नयाँ पुस्तालाई सहमति गरेर जिम्मेवारी दिउँ। महाधिवेशनबाट हामी ७० को पुस्ता बिदा लिउँ।”

 

यो पनि हेर्नुस्- 

पूर्वमाओवादी नेता तान्ने ओलीको दाउ बुझेपछि विच्किएका थिए प्रचण्ड

ट्रम्पलाई पाखा लगाउँदै अमेरिकी राष्ट्रपति बनेका जो बाइडेनको नालिबेली

इतिहास रचेकी कमला र उनको भारत साइनो 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्