सफल भएको कोरोना खोपबारे थाहा पाउनै पर्ने केही कुरा, नेपालको तयारी के – Janadesh Daily | ePaper

सफल भएको कोरोना खोपबारे थाहा पाउनै पर्ने केही कुरा, नेपालको तयारी के


जनादेश वाच ।

सरकारभर कोरोना भाइरसको महामारी चलिरहेको समयमा यो भाइरस विरूद्धको पहिलो खोप सफल भएको घोषणा गरिएको छ । यो खोप लगाएका मध्ये ९० प्रतिशत भन्दा बढी मानिसलाई सुरक्षा प्रदान गरेको खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले जनाएका छन् ।

ती कम्पनीले “विज्ञान र मानवताका लागि एक महान दिन” भन्दै घोषणा गरेको खोप विभिन्न छ देशका ४३ हजार ५०० मानिसमा परीक्षण गरिएको थियो र त्यसक्रममा सुरक्षा सम्बन्धी कुनै पनि समस्या देखिएनन् ।

ती कम्पनीहरूले यो महिनाको अन्त्यसम्ममा उक्त खोपको प्रयोगका लागि आवश्यक अनुमति आपतकालीन रूपमा प्राप्त गर्न आवेदन दिने योजना बनाएका छन्।

यो खोप पूर्ण सफल भैसकेको हो ?

खोपको परीक्षण अन्तिम चरणमा पुगेपनि अझै पनि ठूला चुनौतीहरू बाँकी नै छन् । यद्यपि यो घोषणालाई वैज्ञानिकहरूले स्वागत गरेका छन्।

अहिले प्रस्तुत गरिएको तथ्याङ्क अन्तिम विश्लेषण भने होइन। यो प्रथम ९४ जना स्वयंसेवकहरूबाट प्राप्त नतिजामा आधारित छ। यो खोपको खास प्रभावकारीता यो परीक्षणको पूर्ण नतिजाहरूको विश्लेषण गरेपछि यो भन्दा केही परिवर्तित पनि हुन सक्छ।

खोप र राम्रो उपचारको व्यवस्था नै आम मानिसहरूको जनजीवनमा उथलपुथल ल्याउने गरी कोरोनाभाइरसको महामारीका कारण लागु विभिन्न प्रतिबन्धहरूबाट पार पाउने उत्तम उपाय भनिएको छ।

झण्डै एक दर्जनजति खोपहरू फेज ३ भनिने परिक्षणको अन्तिम चरणमा रहेका छन्। तर अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरस विरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुई मार्फत शरिरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

पहिलेका परीक्षणहरूले उक्त खोपले शरिरलाई कोरोनभाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि-सेल भनिने शरीरको रोध प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए।

दुई पटक लगाउनुपर्छ खोप

यो खोप तीन हप्ताको अन्तरालमा दुई मात्रा लगाउन आवश्यक पर्ने कम्पनीहरुको भनाई छ ।

अमेरिका, जर्मनी, ब्रजिल,आर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परिक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो।

औषधी निर्माण कम्पनी फाइजरको विश्वासमा उस्ले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सक्नेछ। र सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने सो कम्पनीले बताएको छ।

अति चिसो तापक्रममा राख्नुपर्ने
उक्त खोपलाई माइनस असी डिग्री सेल्सियसको अति चिसो तापक्रममा सुरक्षित राख्नु पर्ने भएकाले व्यवस्थापनगत चुनौतीहरू ठूलै छन्।

विश्व स्वास्थ्य संगठनले नतिजा निक्कै सकारात्मक भएको तर यो खोप तयार भएर सबै देशलाई समानरुपमा वितरण गर्न चुनौति रहेको बताएको छ ।


मध्यम र न्यून आए भएका मुलुकमा खोप पुर्‍याउन चुनौति हुने डब्ल्युएचओको भनाई छ । अमेरिका, युरोपेली संघ, बेलायत, जापान र क्यानडा लगायतका देशले खोप किन्ने सम्झौता गरिसकेका छन् ।

नेपालले जि-टू-जीमार्फत किन्ने
सरकारले कोरोना विरुद्ध खोप जिटुजी मार्फत् किन्ने भएको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाविरूद्ध खोप तयार भएको अवस्थामा ती मुलुकका सरकारसँग जिटुजी प्रक्रियाबाट खोप किन्ने निर्णय गरेको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्