एजेन्सी ।
नेसन्स लिग फुटबलमा कप्तान सर्जियो रामोसले दुई पेनाल्टी मिस गर्दा स्पेन स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ । शनिबार राति स्विट्जरल्यान्डको घरेलु मैदानमा भएको खेलमा स्पेन १–१ को बराबरीमा रोकिएको हो ।
पहिलो हाफमा अग्रता लिएको स्विट्जरल्यान्ड दोस्रो हाफमा १० खेलाडीमा समेटिएको थियो । त्यसैको फाइदा उठाउँदै स्पेनका लागि सब्सिच्युट खेलाडीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसअघि स्पेनलले दुई पेनाल्टी पाएको थियो । तर, दुबै पेनाल्टी कप्तान रामोस गुमाएका थिए ।
खेलको २६ औं मिनेटमा स्विट्जरल्यान्डका रेमो प्रेउलरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले इन्बोलोको पासमा गोल गर्दै स्विट्जरल्यान्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए ।
५७ औं मिनेटमा स्विट्जरल्यान्डका डिफेन्डर राड्रिग्युजले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि स्पेनले पेनाल्टी पाएको थियो । तर, उक्त पेनाल्टी कप्तान रामोसले मिस गरेका थिए । उनले प्रहार गरेको पेनाल्टी स्विट्जरल्यान्डका गोलरक्षक सोमरले सहजै बचाएपछि स्पेन बराबरी गोल फर्काउनबाट चुकेको थियो ।
त्यस्तै ८९ औं मिनेटमा स्पेनले दोस्रो पेनाल्टीको अवसर पाएको थियो । स्विट्जरल्यान्डका डिफेन्डर निको एल्भेडीले पेनाल्टी क्षेत्रमा गम्भीर ट्याकल गरेपछि स्पेनले पेनाल्टी पाएको थियो । रामोसको पेनाल्टी पनि स्विट्जरल्यान्डका गोलरक्षक सोमरले सहजै बचाएका थिए । यता गम्भीर ट्याकल गरेका एल्भेडी भने दोहोरो पहेँलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । उनी मैदानबाट बाहिरिएपछि घरेलु टोली १० खेलाडीमा समेटिएको थियो ।
त्यसको फाइदा उठाउँदै स्पेनका स्ट्राइकर जेरार्ड मोरेनोले बराबरी गोल फर्काए । उनले खेलको अन्तिम मिनेटमा रेगुइलोनको पासमा गोल गर्दै पाहुना टोलीलाई हारबाट जोगाएका हुन् ।
बराबरीसँगै समूह डीमा रहेको स्पेनले आठ अंक जोड्दै समूहको दोस्रो स्थानमा रहेको छ । पाँच खेल खेलेको स्पेनले दुई खेलमा जित, दुई बराबरी र एक खेलमा हार सहित ८ अंक जोडेको हो । त्यस्तै समान खेल खेलेको स्विट्जरल्यान्ड भने तीन खेल बराबरी र दुई खेलमा हारसहित तीन अंक जोडेर समूहको पुछारमा छ ।
यो समूहको शीर्ष स्थानमा ९ अंक सहति जर्मनी रहेको छ । जर्मनीले नेसन्स लिग फुटबलमा पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितका लागि स्ट्राइकर टिमो वेरनरले दुई गोल गरेका थिए । त्यस्तै लेरोय सानेले एक गोल गरे । युक्रेनका लागि रोमन यारेम्चुकले एक गोल गरेका थिए ।
खेलको १२ औं मिनेटमा रोमनले गोल गर्दै पाहुना टोली युक्रेनलाई अग्रता दिलाएका थिए । उनले जुब्कोवको पासमा गोल गर्दै युक्रेनलाई खेलमा अगाडि बढाएक थिए । तर, खेलको २३ औं मिनेटमा जर्मनीले बराबरी गोल फर्कायो । जर्मनीका लागि सानेले गोरेट्ज्काको पासमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका हुन् ।
३३ औं मिनेटमा वेरनरले गोल गरे । उनले गोरेट्ज्काको पासमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । ६४ औं मिनेटमा वेरनरले व्यक्तिगत दोस्रो गोल गरे । उनले गिन्टरको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ३–१ को पुनरागमन जित दिलाएका हुन् ।
जितसँगै समूह डीमा रहेको जर्मनी समूहको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेल खेलेको जर्मनी दुई खेलमा जित र तीन खेल बराबरी खेल्दै ९ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । पराजित युक्रेन भने समान खेलबाट ६ अंक जोड्दै समूहको तेस्रो स्थानमा छ ।