एजेन्सी ।
चुनावमा पराजित भएर पनि हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकमा रहेका थप सैनिक फिर्ता बोलाउने तयारी गरेका छन् ।
ट्रम्पले सैन्य फिर्तीका लागि अधिकारीलाई आदेश दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै आएका समाचारमा राष्ट्रपति ट्रम्प अफगानिस्तानमा रहेका बाँकी सैनिक मध्येबाट केहीलाई फिर्ता ल्याउने तयारीमा रहेका छन् ।
आउँदो जनवरीको मध्यसम्म अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५ सय मा सीमित गर्ने तयारीमा ट्रम्प छन् ।
अहिले अफगानिस्तानमा झण्डै पाँच हजार अमेरिकी सैनिक छन् । इराकमा रहेका तीन हजार सैनिकबाट घटाएर २५ सय बनाइने छ ।
ट्रम्पले यसअघि क्रिसमससम्म सबै सैनिक फिर्ता गर्ने बताउँदै आएका थिए ।