ओलीको ‘देउवा कार्ड’ स्टन्टमात्र कि साँच्चिकैको तयारी – Janadesh Daily | ePaper

ओलीको ‘देउवा कार्ड’ स्टन्टमात्र कि साँच्चिकैको तयारी


जनादेश वाच ।

पार्टीभित्र सबै कमिटिमा अल्पमतमा परेपछि चरम दबाबमा रहेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई दबाबमा राख्न एकसाथ धेरैवटा तरिका अपनाएका छन् ।

पार्टीभित्र जनताको बहुदलीय जनवाद जवजका पक्षधरलाई गोलबद्ध गर्ने कोशिसदेखि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाललाई फकाउने र थर्काउने दुबै नीति ओलीले अख्तियार गरेका छन् ।

प्रचण्डले पेश गरेको प्रतिवेदन फिर्ता लिन केही ओली निकट नेताहरुले दवाव दिइरहेपनि प्रचण्डले मानेका छैनन् । शुक्रबारमात्रै नेकपा महासचिव विष्णु पौडेल र अर्का नेता सुवास नेम्वाङले प्रचण्डलाई पार्टी कार्यालयमा भेटेरै प्रस्ताव फिर्ता लिए विवाद टुङ्गिने र पार्टी विभाजन रोकिने भन्दै त्यसतर्फ सोच्न आग्रह गरेका थिए ।

 

पटकपटक ओलीको अपमान सहेको भन्दै प्रचण्ड भने कुनै हालतमा नझुक्ने र प्रस्ताव फिर्ता नलिने अडानमा रहेको बताइएको छ ।

प्रचण्ड मात्रै नभएर उनको पक्षमा रहेका माधवकुमार नेपाल र झलनाथ खनाललगायतका सबै ५ जना नेताहरु प्रस्ताव फिर्ता नलिने पक्षमा छन् ।

प्रचण्डले लगाएका एक एक आरोपको जवाफ दिने भन्दै ईश्वर पोखरेलहरुले धम्काइरहेको भएपनि भित्रीरुपमा ओली प्रचण्डको प्रस्ताव फिर्ता भएर दुई अध्यक्षको संयुक्त प्रस्ताव ल्याउने प्रयासमा छन् ।

पार्टी कमिटिमा दर्ज भइसकेको दस्तावेज सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म लैजानपरे लैजाने तयारीमा रहेका प्रचण्ड नेपाल समुह ओलीले पार्टी फुटाउन खोजे त्यसको समेत सामना गर्न तयार भएको नेताहरुको भनाइ छ ।

ओलीको देउवा कार्ड

पार्टीभित्र दबाब बढिरहेको बेला ओलीले शनिबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म कांग्रेस सभापति शेरबहादुर देउवासँग तीन घण्टा लामो संवाद गरे ।

ओलीले सत्ता साझेदारीको समेत प्रस्ताव राखेको भनिएको उक्त संवादले देशको राजनीतिमै नयाँ तरंग पैदा गरेको छ । ओलीले ८ वटा मन्त्रालय नै अफर गरेको विषयसम्म बाहिर आएपछि नेकपाभित्र तरंग पैदा भएको छ । आइतबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले कांग्रेस पाँच वर्षसम्म सरकारमा नजाने ट्वीटमार्फत यस्तो चर्चालाई निस्तेज पार्ने कोशिस गरे ।

ओलीले सत्ता सहकार्यका लागि गरेको आग्रहलाई देउवाले प्रष्ट जवाफ नदिएको बताइएको छ।
छलफलमा ओलीले कांग्रेसलाई खु्शी बनाएर सरकार सहभागी गराउने प्रस्ताव गरे पनि देउवाले तत्कालै सरकारमा जाने आशय प्रकट नगरेको स्रोतको दाबी छ। छलफलपछि देउवाले निकट नेताहरुसँग कांग्रेसलाई अहिले प्रतिपक्षमै बस्ने म्याण्डेट प्राप्त भएको र नेकपा फुटे सत्ता सहकार्यका लागि छलफल गर्न सकिने जवाफ दिएको ब्रिफिङ गरेका छन्।

कस्तो बन्छ ओली-देउवा समिकरण
अहिले प्रतिनिधिसभामा कांग्रेससँग ६३ सांसद छन् । र जसपासँग ३४ जना सांसद छन् । यी दुई दल मिल्दा ९७ जना सांसद हुनेछन् । यसरी हिसाब गर्दा सरकार बनाउन अब ४१ सांसदआवश्यक पर्छ। किनभने अहिले सरकार बनाउन जम्मा १३८ सांसद भए पुग्छ । कांग्रेस, जसपा र ओली समूह मिल्दा सरकार निर्माणका लागि सांसदको संख्या पर्याप्त हुन्छ । ओलीसँग नेकपाका ६४ जना सांसद त हस्ताक्षर गरेर नै बसेका छन् । नेकपाभित्र बहुमत पुर्‍याउन ८८ जना सांसद आवश्यक छ । तर यस्तो सहज सम्भावना निक्कै कम छ । त्यसमाथि जसपाका डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव ओली भन्दा प्रचण्डसँग निकट हुन सहज देखिन्छ । तसर्थ ओलीलाई कांग्रेससँग समिकरण बनाउँदा समेत सत्ता कायम राख्न कठिन छ ।

तर्साउने तरिकामात्र
नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले देउवासँग हिमचिम बढाएर पार्टीका विपक्षीहरुलाई तर्साउने रणनीति अख्तियार गर्ने गर्छन् । असारमा नेकपा विवाद बढ्दै गएको बेला पनि ओलीले संसद अधिवेशन अन्त्य गरेर देउवासँग भेटेका थिए । देउवासँगको सत्ता साझेदारी भन्दा पनि प्रचण्ड-नेपाल पक्षलाई दबाबमा राख्ने रणनीति अन्तर्गतमात्र ओलीले देउवा कार्ड फालेको बुझ्न कठिन छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्