के साँच्चै होला सत्तारुढ नेकपाको मंसीरमा महाधिवेशन ? – Janadesh Daily | ePaper

के साँच्चै होला सत्तारुढ नेकपाको मंसीरमा महाधिवेशन ?


जनादेश, काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसीरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेपछि पार्टीभित्र अनावश्यक रुपमा तानिइरहेको बहसले एकाएक नयाँ मोड लिएको छ ।

प्रम ओली पार्टी र सरकार दुवै सञ्चालनमा असक्षम रहेको बताउँदै दुवै जिम्मेवारीबाट राजीनामा दिन माग गर्दै कहिले स्थायी समिति त कहिले पार्टी सचिवालयको वैठक अदलीबदली बसिरहेका बखत प्रम ओलीको मंसीरमा अधिवेशन गर्ने प्रस्तावले सबैलाई आश्चर्यमा पारिदिएको छ ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका बहुमत नेताहरुको मागलाई अस्वीकार गर्दै आएका ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडान छन् । शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रम ओलीले पार्टीको एकता महाधिवेशन मंसीरमै गर्ने प्रस्ताव गरेपछि उक्त प्रस्ताव सचिवालयमा निल्नु न ओकल्नु भएको थियो ।

तर सचिवालय सदस्यहरुले उक्त प्रस्ताव सकारात्मक भए पनि यति छोटो अवधिमा संभव नहुने भन्दै आशंका व्यक्त गरेका छन् । उनीहरुले विगतमा पनि यस्ता सकारात्मक प्रस्तावहरु आएका तर कुनै पनि कार्यान्वयन नभएका भन्दै लिखित प्रस्ताव ल्याउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

पहिलेका मिटिङमा जस्तो राजीनामाको झटारो हानाहान नभएका बेला ओलीको यो प्रस्ताव आउला भन्ने कसैलाई पनि लागेको थिएन । सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड दुवै सकारात्मक रूपमा प्रस्तुत भएका बखत उक्त प्रस्ताव आएपछि ओली र दाहाल राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्