अमेरिकामा ट्रम्पद्वारा घुमाउरोरुपमा हार स्वीकार, सत्ता हस्तान्तरणको प्रक्रिया सुरु – Janadesh Daily | ePaper

अमेरिकामा ट्रम्पद्वारा घुमाउरोरुपमा हार स्वीकार, सत्ता हस्तान्तरणको प्रक्रिया सुरु


एजेन्सी ।

चुनाव हारेपछि नतिजाबारे अनर्गल प्रचार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घुमाउरो भाषामा पहिलो पटक हार स्वीकार गरेका छन् ।

ट्रम्पले अन्ततः हार स्वीकार गर्दै जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिकरुपमा सञ्चालन गर्ने बाटो खोलिदिएका हुन् ।

नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् । तर कुनै पनि प्रमाण बिना ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि र सरकारी सूचना तथा कोषमा पहुँच नदिए पनि अन्तरिमक कालको काम थालेका थिए ।

बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिने छन् । त्यसअघि उनको अन्तरिमक प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । अहिलेसम्म त्यस्तो हुन सकेको छैन ।

तर ट्रम्पले अन्तरिम प्रशासनको कामलाई औपचारिकता प्रदान गर्नका लागि गर्नु पर्ने सबै प्रक्रिया पूरा गर्न महत्वपूर्ण संघीय निकायलाई निर्देशन दिएको ट्वीट गरेर उल्लेख गरेका हुन् ।

अन्तरिम प्रशासनलाई सत्ता औपचारिक रुपमा नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी पाएको जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जिएसए) ले बाइडेनलाई नोभेम्बर ३ मा भएको चुनावको स्पष्ट विजेताका रुपमा स्वीकार गर्ने बताएको छ ।

यसअघि मिसिगन राज्यले सोमबारै बाइडेनको जितलाई औपचारिक रुपमा प्रमाणीकरण गरेको थियो । सो प्रमाणिकरण चुनावको नतिजा उल्ट्याउने प्रयासमा रहेका ट्रम्पका लागि ठूलो धक्का थियो ।

मिसिगनका दुई डेमोक्र्याट तथा दुई रिपब्लिकनसहितको चार सदस्यीय इलेक्टोरल कलेज मतलाई आधिकारिकता प्रदान गर्ने कमिटिको सोमबारको बैठकले एक लाख ५० हजार भन्दा बढी मतले अघि रहेका बाइडेनको पक्षमा नतिजालाई औपचारिकता प्रदान गरेको छ ।

ट्रम्पले चुनावमा भएको ‘धाँधली’ विरुद्धको लडाईमा विश्वास राख्न अपिल गर्दै ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियाका लागि गर्नु पर्ने सबै काम गर्न जिएसए तथा आफ्नो टिमलाई निर्देशन दिएको बताएका छन् ।

एक रिपब्लिकन पदाधिकारी अनुपस्थित रहे पछि तीनजनाले मत परिणामलाई औपचारिकता प्रदान गरेको हो । ट्रम्प मिसिगनको नतिजा आफ्नो पक्षमा उल्ट्याने प्रयासमा थिए ।

जिएसएकी प्रमुख एमली मर्फीले राष्ट्रपतिमा निर्वाचित बाइडेनको अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम निकाशा गरेको बताएकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्