नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको उद्घोषः ‘अमेरिका इज ब्याक’ – Janadesh Daily | ePaper

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको उद्घोषः ‘अमेरिका इज ब्याक’


एजेन्सी ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वमञ्चमा अमेरिका फर्किएको उद्घोष गरेका छन् । बाइडनले आफ्नो सरकार सञ्चालन गर्ने समूहको घोषणा गर्दै भनेका छन्ः विश्वको नतृत्व गर्न अमेरिका फर्केर आएको छ, ‘आमेरिका इज व्याक’ ।

बाइडनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका महत्त्वपूर्ण छ वटा पदमा मनोनित गरेका छन्।

 

बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् ।

विश्वका सहयोगी राष्ट्रहरुसँग सहकार्य गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामूहिक स्वार्थका लागि काम गर्न अमेरिका पुनः तयार भएको बाइडेनले मंगलबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो टिममा रहने परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका सदस्यहरुको परिचय गराउँदै आउँदो जनवरी २० मा सत्ता सम्हालेपछि ट्रम्पको ‘एकतर्फी राष्ट्रवाद’ को नीतिबाट अमेरिकालाई अलग गराउने संकेत गरेका हुन् ।

बाइडेनले आफ्नो मन्त्रीपरिषदमा दुई उदारवादी नेताहरु जो राष्ट्रपति उम्मेदवारीको होडमा बाइडेनका प्रतिस्पर्धी थिए, सिनेटर बर्नी सान्डर्स र एलिजाबेथ वारेन सामेल नहुने पनि संकेत गरेका छन् ।

महत्वपूर्ण नीतिहरु पारित गर्नका लागि विभाजित सिनेटमा उनीहरुको मत अत्यावश्यक हुने बाइडेनले बताएका छन् ।

चार वर्ष पहिले सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सम्झौता र जिम्मेवारीहरुबाट अलग गरेका थिए । युरोपेली देशसँगको सम्बन्धमा ट्रम्प कालमा अमेरिका कमजोर भएको देखिन्छ । ट्रम्पको सम्बन्ध विश्वका अधिनायकवादी नेताहरुसँग नजिक र ‘घनिष्ट’ बनेको छ ।

को को छन् बाइडेनको टिममा

अनुमोदन भएमा एभ्रिल हेन्स पहि लो महिला डिरेक्टर अफ न्याश्नल इन्टेलिजेन्स बन्ने छिन् भने अलेहान्द्रो मयोर्कस होमल्याण्ड सिक्युरिटीको पहिलो ल्याटिनी प्रमुख हुने छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएका छन् र सँगै बाइडनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्ने छन्।

तर ट्रम्पले चुनावी हार स्वीकार गरिसकेका छैनन् र नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको अप्रमाणित दाबी दोहर्‍याइ रहेका छन्।

ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ।

राष्ट्रपति निर्वाचित जो बाइडनले आफ्नो मन्त्रिपरिषद्‍मा रहने मुख्य व्यक्तिहरूको घोषणा गर्दै उक्त समूहले अमेरिकालाई पुन: एकताबद्ध गराउने बताए।

गृह राज्य डेलवेरमा बोल्दै बाइडनले अमेरिकाका विरोधीहरूसँग भिड्ने तर सहयोगीहरूलाई अस्वीकार नगर्ने उल्लेख गरे।

आफ्नो समूह अनावश्यक सैनिक द्वन्द्वमा नफस्ने उनको भनाइ छ। तर समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बाइडनले बताए।

उनले भने, “यो समूहले अमेरिका र हाम्रा जनतालाई सुरक्षित राख्ने छ। यो समूहले विश्वको नेतृत्व गर्न अमेरिका फर्किएको प्रतिबिम्बित गर्छ।”

उनले अमेरिकी तल्लो सदनमा रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेकोमा पनि जोड दिए।

बाइडनले विदेशमन्त्रीको जिम्मेवारी दिने गरी मनोनित गरेका टोनी ब्लिङ्केनले अमेरिका विश्व मञ्चमा विश्वासका साथ र मानवीय दुवै किसिमले प्रस्तुत हुनुपर्ने आवश्वकता रहेको बताएका छन्।

अमेरिकासँग अन्य देशहरूलाई साथमा ल्याउने बेजोड क्षमता रहेको तर उनीहरूको पनि सहकार्य आवश्यक हुने उनको भनाइ छ।

होमल्यान्ड सिक्युरिटीमा बाइडनद्वारा मनोनित क्युबामा जन्मिएका अलेहान्द्रो मयोर्कसले आफ्ना अभिभावकले कम्युनिज्म छल्न आफूलाई अमेरिका ल्याएको बताउँदै देशको सेवामा रात दिन खटिने प्रण गरे।

पहिलो महिला डिरेक्टर अफ नेसनल इन्टेलिजेन्समा मनोनित एभ्रिल हेन्सले असुविधाजनक र अप्ठेरो नै भए पनि उनले सत्य बोल्ने वाचा गरिन्।

अर्थशास्त्री ज्यानेट येलेनले अर्थमन्त्रीको भूमिका पाउने बताइएको छ। यी सबै मनोनयन सिनेटको सुनुवाइ समितिबाट अनुमोदित हुनुपर्नेछ।

साथै बाइडनले जलवायु परिवर्तनको सङ्कटसँग जुझ्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गरेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्