चन्द समूहका रोल्पा इन्चार्ज थापा पक्राउ – Janadesh Daily | ePaper

चन्द समूहका रोल्पा इन्चार्ज थापा पक्राउ


थापामाथि चन्दा संकलन, बम विस्फोट र टेलिफोन टावरमाथि आक्रमण गरेको अभियोग

काशीराम डाँगी

रोल्पा — प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका रोल्पा इन्चार्ज कमल थापालाई पक्राउ गरेको छ । उक्त समूहका राप्ती ब्यूरो सदस्य समेत रहेका थापालाई प्रहरीले शुक्रबार उनकै घर गजुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेको चन्द समूहका रोल्पा जिल्ला इन्चार्ज कमल थापा । तस्बिर : सामाजिक सञ्‍जाल ।

प्रहरीका अनुसार चन्दा संकलन, बम विस्फोट र टेलिफोन टावरमाथि आक्रमण गरेको अभियोग लागेका थापालाई उनको घर पूर्वी रोल्पास्थित सुनिलस्मृति गाउँपालिकाको गजुलबाट पक्राउ गरी सदरमुकामस्थित प्रहरी हिरासतमा ल्याइएको हो ।

‘उहाँ विरुद्ध यसअघि नै विभिन्‍न मुद्दा दर्ता गरिएको थियो । हामीले पक्रेर अदालतमा उपस्थित गराउने काम गरेका हौं,’ जिल्ला प्रहरी कार्यालयका निरीक्षक शंकर खड्काले बताए । शुक्रबार सदरमुकाममा ल्याइएका उनी विरुद्ध शनिबारदेखि प्रहरीले मुचुल्का तयार पार्न थालेको हो ।

थापाको पक्राउपछि उक्त समूहका राप्ती ब्यूरो इन्चार्ज समरले विज्ञप्ती जारी गर्दै विरोध र रिहाइको माग गरेका छन् ।

प्रहरीका अनुसार थापालाई आइतबार रोल्पा अदालतमा उपस्थित गराउने तयारी भएको छ । प्रहरीले यसअघि चन्द समूहका ३ जना जिल्ला इन्चार्जलाई पक्राउ गरेको थियो । यसअघि थबाङका जयप्रकाश रोका, लिबाङका दलबहादुर खत्री र गजुलकै सन्तोष सुवेदीलाई पनि प्रहरीले विभिन्न अभियोगमा पक्राउ गरेको थियो ।

जयप्रकाश बाहेक अन्य दुई जनालाई अदालतको आदेशमा रिहाइ गरिएको छ भने थप केही नेता कार्यकर्तालाई कारागारमा राखिएको छ । जयप्रकाशसहित चन्द समूहका अन्य नेता हाल रोल्पा कारागारमा छन् ।

स्रोतः आजको कान्तिपुर दैनिकबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्