भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्यमा जोड – Janadesh Daily | ePaper

भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्यमा जोड


टोकियो ।

जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै भाइरसका कारण नराम्रोसँग प्रभावित दुबै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्ने बारेमा पनि दुबै देशबीच सहमति भएको छ ।

जापान भ्रमणमा रहनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका जापानी समकक्षी तोसिमिचु मोटेगीले दुबै देशबीच व्यापारिक, व्यावसायिक यात्रा पुनः शुरु गर्ने निर्णय भएको छ । विश्वमा हाल चीन दोस्रो तथा जापान तेस्रो ठूलो अर्थतन्त्र भएका मुलुक हुन् ।

जापान र चीनबीच यसै महिनाको अन्त्यदेखि व्यावसायिक यात्रा शुरु हुनेछ जहाँ व्यापारिक एवं व्यावसायिक व्यक्तिहरुका लागि १४ दिने क्वारेन्टाइनका नियम लागू हुने छैनन् । जापानले यस्तै नियम सिंगापुर, दक्षिण कोरिया र भियतनामका लागि लागू गरिसकेको छ ।

यद्यपी जापानमा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमणको दर केही बढेको देखिएको छ । सरकारले रोग नियन्त्रण र आर्थिक कृयाकलापलाई सँगसँगै लैजाने नीति अबलम्बन गरिरहेको छ ।

चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जापानका विदेशमन्त्री मोटेगीले भन्नुभयो, “नयाँ सहमतिहरुले जापान र चीनबीचको व्यावसायिक सम्बन्ध अघि बढाउन निकै योगदान गर्नेछ । जापान–चीनबीचको स्थायित्वले दुई देशबीच मात्र नभई यस क्षेत्रकै लागि यो उपयोगीसिद्ध हुनेछ ।”

कोरोनाभाइरस महामारी फैलनुअघि जापान भ्रमण गर्ने विदेशीहरुमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी थियो ।

दुई देशबीचको सम्बन्ध खासगरी भूमि विवाद र युद्धकालीन इतिहासलाई लिएर संकटमा पर्ने गरेको छ । तर पछिल्ला केही वर्षदेखि दुबै देशबीचको सम्बन्धमा व्यापक सुधार आएको छ । र चीन र संयुक्तराज्य अमेरिकाबीच व्यापार युद्ध शुरु भएपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधार आएको छ ।

अमेरिकाका एउटा प्रमुख मित्रराष्ट्रका रुपमा रहेको जापानले चीनलाई अहिले मुख्य व्यापारिक साझेदारका रुपमा लिन थालेको छ । जापानले चीन र अमेरिका दुबैसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुपर्ने कठिन चुनौती छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्