भारतसँग सीमा समस्याबारे कुरा भएको परराष्ट्रको दाबी, आ-आफ्ना धारणा प्रदान – Janadesh Daily | ePaper

भारतसँग सीमा समस्याबारे कुरा भएको परराष्ट्रको दाबी, आ-आफ्ना धारणा प्रदान


जनादेश, काठमाडौं ।

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय वार्तामा सीमाका विषयमा छलफल भएको दाबी परराष्ट्र मन्त्रालयले गरेको छ ।

बिहीबार भएको परराष्ट्र सचिवस्तरीय वार्तामा सीमाका विषयमा आफ्ना आफ्ना धारणा आदान प्रदान भएको जानकारी दिएको हो ।

‘सीमाका विषयमा छलफल भयो। सीमाबारे बाँकी काम पूरा गर्ने विषयमा आआफ्ना पक्षका धारणा आदानप्रदान पनि भएको छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बिहीबार भएको वार्तमा नेपाल भारतका विधिध सम्बन्धबारे छलफल भएको बताइएको छ। व्यापार, कनेक्टिभिटी, पूर्वधार, ऊर्जा, कृषि, लगानी, दुई देशको संस्कृति र जनताजनताबीचको सम्बन्ध लगायतका विषमया पनि समीक्षा भएको बताइएको छ।

दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न दुई देशका अनुभव आदानप्रदानसमेत भएको बताइएको छ। यसका साथै भ्याक्सिन विकासमा भारतका कामबारे पनि छलफल भएको थियो।

यसैबीच भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले नेपाल-भारतबीच रहेका समस्या समाधानका लागि वार्ताको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार काठमाडौँस्थित एक होटलमा नेपाली प्रतिनिधिमण्डलसँग भएको वार्ता नेपाल-भारत समस्या समाधानका लागि उपयोगी भएको श्रृंगलाले प्रतिक्रिया दिएका हुन् ।

‘नेपाल-भारतका समस्या समाधानका लागि वार्ताको राम्रो सुरुवात भएको छ । यो निकै उपयोगी छ,’ उनले भने ।

वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी थिए । दुईपक्षीय प्रतिनिधिमण्डलसँगको छलफलअघि नेपाल र भारतका विदेश सचिवबीच एक्लाएक्लै छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयले दुई देशबीचको वार्ता निकै सौहार्द भएको उल्लेख गरेको छ। आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा वार्ता केन्द्रित भएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

बिहीबार काठमाडौं उत्रिएका भारतीय विदेशसचिव शृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। श्रृंखला शुक्रबार दिल्ली फर्कनेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्