एजेन्सी ।
पराजित भएपनि चुनावी नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावमा धाँधली भएको भन्ने दाबी निष्प्रभावी बन्दै गएको छ ।
अमेरिकाका महान्याधिवक्ता विलियम बारले राष्ट्रपतिको चुनावमा ट्रम्पले दाबी गरेजस्तो धाँधली भएको कुनै प्रमाण फेला नपरेको बताएपछि ट्रम्पलाई ठूलो झट्का लागेको छ ।
महान्यायाधिवक्ता बारले भनेका छन्, ‘अहिलेसम्म त्यस्तो किसिमको धाँधलीको कुनै प्रमाण फेला परेको छैन, जसले मत परिणाम प्रभावित गरोस्।’
ट्रम्पले चुनवामा धाँधली भएको भन्दै अहिलेसम्म आफ्नो हार स्वीकार गरिरहेका छैनन्। तर चुनावी नतिजा उल्ट्याउन उनले अहिलेसम्म गरेका सबै प्रयास असफल भएका छन् ।
यद्यपि ट्रम्पले सत्ता हस्तान्तरणको औपचारिक प्रक्रिया सुरु गर्नुपर्ने कुरा स्वीकार गरेका छन्।
अमेरिकामा सत्ता हस्तान्तरण झन्डै ११ हप्तामा पूरा हुन्छ। त्यो सामान्यतया कसले जित्यो भन्ने कुरा स्पष्ट भएपछि सुरु भएर जनवरी २० मा नयाँ राष्ट्रपतिले औपचारिक रूपमा सत्तारोह गर्दासम्म सकिन्छ।
सेन्टर फर प्रेजिडेन्शल ट्रान्जिशनका अनुसार त्यो केवल एउटा पदको हस्तान्तरण मात्र होइन। नयाँ राष्ट्रपतिले ४,००० राजनीतिक पदहरू पूर्ति गर्नुपर्छ।
बाइडनले प्रमुख सदस्यहरू नियुक्त गर्न थालिसकेका छन्। हस्तान्तरण प्रक्रियाले प्रत्येक सरकारी निकायका प्रमुखलाई उनीहरूले गर्नुपर्ने आवश्यक भूमिका पहिल्याउन सहयोग गर्छ।
राजनीतिक नियुक्ति हुने ४,००० पदमध्ये १,२०० मा सिनेटको अनुमोदन आवश्यक हुन्छ। हस्तान्तरण प्रक्रियाका क्रममा उनीहरूको पृष्ठभूमि जाँचमा सरकारले सघाउँछ।
यो वर्ष कोरोनाभाइरस महामारी पनि छ र बाइडनले स्वास्थ्य निकायका उच्च अधिकारीसँग सम्पर्क गर्न र जनस्वास्थ्य सूचनामा पूर्ण पहुँच चाहेको बताएका छन्।