एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित – Janadesh Daily | ePaper

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित


काठमाडौँ ।

गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया छन् । मन्त्रालयको मङ्गलबारको सचिवस्तरीय निर्णयले तिनलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक कुँवरका अनुसार घटनाका विषयमा अहिले छानबिन भइरहेको र कसुरको मात्रा हेरी कारवाही हुनेछ । तीनै जनामाथि विगतमा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरण विपरीत र गैरव्यावसायिक कार्य गरेको आरोप छ ।

यादव हाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रवक्ताका रुपमा, बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र चौरासिया इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत छन् । मन्त्रालयका अनुसार उनीहरुले प्रहरी सङ्गठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीलाई असर पु¥याउने किसिमको कार्य गरेको जानकारी प्राप्त भई प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरेको पाइएको छ ।

मन्त्रालयले प्रहरी नियमावली,२०७१ विपरीत आचरण, व्यवहार तथा गैरव्यावसायिक कार्य गरेको पुष्टि हुन आएकाले थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को ९४० बमोजिम सचिवस्तरको निर्णयअनुसार बढीमा ६ महिनाका लागि निलम्बन गरिएको जनाएको छ । केही दिनअघि मात्रै मन्त्रालयले इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका प्रहरी नायब उपरीक्षक भरतराज चौधरीलाई पनि निलम्बन गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्