एजेन्सी ।
इरानले युरेनियमको उत्पादन बढाउने तथा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्तालाई आफ्नो परमाणु क्षेत्रमा अनुगमन गर्न नदिने निर्णय गरेको छ । इरानको संसदले रोक लगाउने सम्बन्धी कानून पारित गरेको हो ।
नयाँ कानून पारित गरेसँगै उसले युरेनियमको उत्पादन थप बिस्तार गर्ने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अबको दुई महिना भित्र आफूमाथि लगाइएका प्रतिबन्ध फुकुवा नभएमा युरेनियमको उत्पादन २० प्रतिशतसम्म बिस्तार गर्ने इरानले जनाएको छ । सन् २०१५ मा भएको सम्झौता अनुसार इरानको युरेनियम क्षमता ३.६७ प्रतिशतमा सीमित हुनु पर्ने थियो ।
इरानका राष्ट्रपति हसन रुहानीले आफू सो कानूनको विपक्षमा रहेको बताएका छन् ।
शीर्ष परमाणु वैज्ञानिक मोहसेन फाख्रिजादेहको हत्या भएपछि नयाँ कानून ल्याइएको हो। उनको हत्यामा इजरायलको हात रहेको इरानको आरोप छ । तर इजरायलले यसबारे सार्वजनिक रुपमा केही बताएको छैन ।