एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केहि हप्तामै भारतमै निर्मित कोरोना विरुद्धको खोप उपलब्ध हुने दाबी गरेका छन् । सर्वदलीय बैठकलाई भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना खोपका लागि धेरै समय कुर्न नपर्ने दाबी गरेका हुन् ।
वैज्ञानिकबाट ग्रिन सिंग्नल प्राप्त हुने बित्तिकै खोप अभियान शुरु हुने मोदीले बताए । अहिले कम लागतको सुरक्षित र प्रभावकारी खोप निर्माणमा जुटेको भारतप्रति विश्वको चासो रहेको मोदीको भनाई छ ।
अमेरिकी कम्पनी मोडेर्ना र फाइजरले उत्पादन गरेको कोरोना खोपको मुल्य भन्दा भारतमा उत्पादित खोप सस्तो पर्ने बताइएको छ । बेलायतले फाइजर र जर्मनी बायोएनटेकले संयुक्तरुपमा विकास गरेको खोप प्रयोगमा स्वीकृति दिइसकेको छ भने रुसले आगामी सातादेखि आफ्नो मुलुकमा निर्माण भएको खोप प्रयोग गर्न निर्देशन दिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले खोप छिटो तयार गर्न वैज्ञानिक अहोरात्र खटिरहेको उनले बताए । मोदीले खोप भण्डार गर्ने कोल्ड स्टोर र सफ्टवेयरको तयारीको विषयमा राज्य सरकारसँग छलफल भइरहेको बताए ।
प्रधानमन्त्री मोदीले खोप सवैभन्दा पहिला स्वास्थ्यकर्मी, कोरोना विरामीको उपचारमा खटिने कर्मचारी र पाका उमेरका मानिसलाई दिइने बताए । भारतमा कोरोना भाइरस विरुद्ध बनाइएका ८ खोपको विभिन्न चरणमा परीक्षण भइरहेको छ ।