सर्वोच्च शिखरको उचाई कतिः चीन र नेपालको संयुक्त मापन नतिजा आज – Janadesh Daily | ePaper

सर्वोच्च शिखरको उचाई कतिः चीन र नेपालको संयुक्त मापन नतिजा आज


जनादेश वाच ।
सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गर्दैछ । नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने नापी विभागले जनाएको छ ।

 दुई वर्षअघिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक हुँन लागेको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आउँदा सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने घोषणा भएको थियो ।

दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको नापी विभागले जनाएको छ ।

६६ वर्षअघि २ वर्ष लगाएर सन् १९५४ मा सर्वे अफ इण्डियाले सगरमाथाको उचाई मापन गरेको थियो। नेपालले हालसम्म सोही उचाई (२९०२९ फिट-८८४८ मिटर)लाई आधार मान्दै आएको छ । तर चीनले भने चीनले भने स्वीकार गरेको थिएन ।

नेपालका नापी अधिकृतले २ वर्ष लगाएर सगरमाथाको मापन गरेका हुन्। अहिले चीनले पनि स्वीकार गरेको नयाँ उचाईलाई दुवै देशले संयुक्त रुपमा एकसाथ सार्वजनिक गर्ने विभागका महानिर्देशकले जानकारी दिए ।

सर्वोच्च चुचुरोको नयाँ उचाई सार्वजनिक कार्यक्रममा मन्त्री, सचिव लगायत सहभागी हुनेछन्। चिनियाँ पक्ष भने भिडियो कन्फ्रेन्सका माध्यमबाट भाग लिनेछन्।

कार्यक्रममा उचाई मापनमा संलग्न अधिकृतहरुलाई सम्मान गरिने पनि विभागले जनाएको छ। विभाग स्रोतका अनुसार सगरमाथाको उचाइ बढेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्