एजेन्सी ।
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज रातिको खेलमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीका टिम भिड्दैछन् ।
मंगलबार राति युभेन्टस र बार्सिलोनाको खेल हुन लागेको हो । इटालियन च्याम्पियन युभेन्टस र स्पेनिस जायन्ट बार्सिलोनाबीचको खेल स्टार खेलाडीद्वय मेस्सी र रोनाल्डोको प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ ।
पुराना प्रतिद्वन्द्वीसमेत रहेका यी दुईले दुई वर्षपछि पहिलोपटक एक-अर्काविरुद्ध खेल्न लागेका हुन् ।
बार्सिलोनाको मैदान क्याप नोउमा हुने समूह चरणको अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । यस खेलको हार-जितले दुवै टोलीलाई कुनै फरक पार्दैन । किनकि, युभेन्टस र बार्सिलोना दुवैले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।
अपराजित रहेको बार्सिलोना शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो भने युभेन्टस दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।
समूह ‘जी’ मा बार्सिलोना १५ अंकसहित शीर्ष स्थानमा रहँदा युभेन्टस १२ अंकसहित दोस्रो स्थानमा छ ।
यस खेलमा युभेन्टस बार्सिलोनाविरुद्ध हारको बदला लिने दाउमा हुनेछ । यसअघि बार्सिलोनाले युभेन्टसलाई उसैको मैदानमा २-० गोलले हराएको थियो ।