परिबन्दमा प्रचण्ड ! आठौं आश्चर्य ?! – Janadesh Daily | ePaper

परिबन्दमा प्रचण्ड ! आठौं आश्चर्य ?!


जनादेश, काठमाडौं ।

शनिवार बसेको सत्तारुढ पार्टी नेपाल कम्यनिष्ट पार्टी (नेकपा) पार्टी सचिवालयको बैठकबाट पार्टी अध्यक्ष तथा प्रम केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिधै राष्ट्रपति भवन शितल निवास पुर्याएपछि नेता तथा कार्यकर्ताको आवेगको भुंग्रोमा पर्न पुगेका प्रचण्डले आफूलाई परिवन्दमा पारिएको कुरा सार्वजनिक गरिरहेका छन् । शनिवार बसेको सचिवालय बैठकमा प्रम ओलीबाट मंसीरमै पार्टीको महाधिवेशन सक्याउने प्रस्ताब आएपछि अच्च न कच्च परेका नेताहरुको बीचबाट उठेर प्रम ओलीले अर्का अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिको दर्शनभेट गर्न पुर्याएका थिए ।

दुईजना अध्यक्षको चोचोमोचो मिलाएर गरिने सहमति अमान्य हुने भनी सिंगो पार्टीभित्र व्यापक असन्तुष्टि बढिरहेका बेला अध्यक्षद्वयले यस्तो काम गरेर देखाएका हुन् । दुई अध्यक्षको बीचमा ‘झ्याप्पै’ कुरा मिलेपछि हंगामा मच्चिनुपूर्व विना ढिलाइ शीतलनिवास पुगेका उनीहरुले राष्ट्रपतिलाई साक्षी राखेर फडके किनारामा विष्णु पौडेल र जनार्दन शर्मालाई उपस्थित गराएका थिए ।

शितल निवासबाट फट्दा प्रम ओलीले मुस्कानसहित अर्का अध्यक्ष प्रचण्डलाई टक्र्याएको स्यालुट आफैमा गम्भीर र अर्थपूर्ण थियो । यति बेलासम्म प्रचण्ड के गरियो र यसको परिणति के हुने हो भन्नेमा निर्धक्क थिएनन् र सम्हालिइसकेका थिएनन् । प्रम ओलीको मन्द मुस्कानसहितको स्यालुटको जवाफ प्रचण्डले हत्त न पत्त नमस्कार र लालसलाम दुवै गरेर फर्काइदिएका थिए । पौडेल र शर्मा भने होमा हो मिलाइरहेका थिए । उनीहरुका लागि पर्वजस्तै थियो यो साँझ ।

तर परिस्थितिले एकाएक कोल्टो फेर्यो । रात गए अग्राख पलाए । भूसको आगो झैं भित्रभित्र सनसनी फेलियो । नेताहरु धर्म फराक गराउने सोचमा पुगे । कुरा बुझ्न रातभर ल्याण्ड लाइन र मोबाइलहरु सँगसँगै बज्न थाले । सबैको फोन उठाएर जवाफ दिन साध्य पनि थिएन । प्रम ओली सन्तोषको सास लिएर प्रम निवास बालुवाटार फर्किएका थिए । तर अर्का अध्यक्ष प्रचण्ड भने उकुसमुकुसको भारी थाप्लोमा हालेर खुमलटार हान्निएका थिए ।

आइतबारे भेटघाटका लागि निर्धारित समयमै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य आदि स्थायी समिति नेताहरु सखारै खुमलटारमा पुगे । त्यति बेला माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन लगायतका नेताहरु रातोपीरो भई बसेका थिए । प्रचण्ड क्षमायाचनाको मुद्रामा प्रस्तुत भैरहेका थिए ।

सुरु देखि नै आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिबन्दमा पारेर शीतल निवासमा पुर्याए भनिरहेका थिए । उनले थपिरहेका थिए– ‘फसाउन र बदनाम गर्न यसो गरिएको थियो ।’

प्रश्नहरु मुसलधारे पानी झैं ओइरिएका थिए । ‘दुई अध्यक्षबीच सहमति भएको हो रु, ओलीतिर जानु भो, राष्ट्रपतिलाई किन भेटेको रु’ आदिआदि । प्रचण्डको जवाफ एकोहोरो बगिरहेको थियो– ‘ओली र पौडेलले परिबन्दमा पारे ।’

‘तावाको माछो भुंग्रोमा’ परेपछि झनै छटपटाइरहेका प्रचण्डले शनिबारे सचिवालय बैठकमा प्रम ओलीको मंसीरमा पार्टी महाधिवेशन प्रस्तावको खण्डन र त्यसको विकल्प दिन नसकेकोमा आफू पानीपानी भएको कुरा थपिरहेका थिए । उनले ओलीजीसँग कुनै सहमति नगरेकोमा ढुक्क हुन बारम्बार आग्रह गरिरहेका थिए ।

प्रम ओली पुराण, रामायण, महाभारत र उपनिषदबाट दिक्षित मानिस हुन् । उनी कौटिल्य म्याकियावेली र भारतीय सीआईडी सिरियलका पारखी पनि हुन् । तर प्रचण्ड सापेक्षतामा मार्क्सवादी दर्शन र विचारबाट दिक्षित सिधासिधा लड्ने तर सारतः सम्झौतापरस्त नेता हुन् । यही कमजोरीको कारण प्रचण्ड हरेक पटक असफल र अदक्ष साबित हुँदै गइरहेका राजनीतिक विश्लेषकहरु स्वीकार गर्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्