नेकपा टकराव, प्रचण्ड निकट भन्छन्- ओली एक कदम पछि नहटे अब निक्कै कठिन – Janadesh Daily | ePaper

नेकपा टकराव, प्रचण्ड निकट भन्छन्- ओली एक कदम पछि नहटे अब निक्कै कठिन


जनादेश वाच ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद मत्थरिने भन्दा बल्झिने संकेत बढ्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली आफ्नो कार्यशैली बदल्न तयार नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीसँग लचक नबन्ने संकेत गरेका छन् ।

ओली नसच्चिने र एक कदम पछि हट्न तयार नभए पार्टीले विधिवत निर्णय गर्दै अघि बढ्ने जानकारी उनले ओलीलाई प्रत्यक्षरुपमा भेटेरै दिएका छन् । ओलीले फकाउन खोज्दा पनि टसमस नगरेका प्रचण्डले यस पटक पनि ओलीसँग समर्पण गरे आफ्नो राजनीतिक करिअर बाँकी नरहने निकट नेताहरुलाई बताइसकेका छन् ।

ओली र प्रचण्डबीच बुधबार भएको एक्लाएक्लै भेट सहज बन्न नसकेपछि अब एकलरुपमा नभेट्ने भन्दै छुट्टिएका थिए । ओलीले प्रचण्डको माग अनुसार आफू पार्टी अध्यक्ष नछोड्ने र प्रधानमन्त्री पदबाट पनि राजीनामा नदिने अडान दोहोर्याएपछि प्रचण्डले ओलीसँग मिल्न नसकिने बताएका थिए । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको समिकरण तोडेर आफूसँग सहकार्य गर्न ओलीले प्रस्ताव पनि प्रचण्डले अस्वीकार गरेका छन् ।

प्रचण्डले भने आफू र माधव नेपालबीचको सम्बन्ध ओलीसँगको भन्दा पुरानो भएको र नेपालबाट आफूले धोका नभई साथ पाउने दृढता व्यक्त गरेपछि ओली र दाहालबीच भनाभन भएको बालुवाटार श्रोतले जनाएको छ ।

अध्यक्ष छोडेर प्रधानमन्त्री पद जोगाउन भित्रियाको सुझाव
ओली गुटका भित्रियाहरुले ओलीलाई अब अध्यक्ष पद छोडेर प्रधानमन्त्री पद जोगाउन सुझाव दिन थालेको बताइएको छ । अध्यक्ष पद छोडेमा पार्टीका काम नगरेको भन्दै प्रचण्डमाथि दबाब बढाउन पाइने र सरकारमा हस्तक्षेप पनि कम हुने उनीहरुको आँकलन छ ।


तर अध्यक्ष पद छोड्दा प्रचण्ड पक्षले प्रधानमन्त्रीबाट पनि ओलीलाई हटाउन खोजेको खण्डमा दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपा टुक्राउने अर्को तयारी ओली पक्षको छ । प्रचण्डलाई मनाउने प्रयास विफल हुनथालेपछि ओलीले आफू निकट नेताहरुलाई बोलाएर अन्तिम विकल्पबारे छलफल गर्दा किचन क्याबिनेटका मान्छेले उनलाई अध्यक्ष छोड्न सुझाव दिएका हुन् ।

बदलिएको छैन ओलीको शैली
अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका महत्वपूर्ण संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको सिफारिस गर्नको लागि प्रधानमन्त्री ओलीले संबैधानिक परिषद्को बैठक डाकेका छन्। तर, यस विषयमा ओलीले कार्यकारी प्रचण्डसँग कुनै सल्लाह नगरेको प्रचण्डनिकट नेताहरुको भनाइ छ।

भदौ २६ गते बसेको स्थायी समिति बैठकले ओली र प्रचण्डबीच जिम्मेवारी बाँडफाँट गरेको थियो। जसअनुसार सरकारले राष्ट्रिय तथा दीर्घकालीन महत्वका निर्णय र महत्वपूर्ण नियुक्ति गर्दा प्रधानमन्त्रीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड तथा आवश्यकताअनुसार पार्टी कमिटीमा सल्लाह परामर्श गरेर त्यस्ता निर्णय लिने भनेको थियो ।

तर, त्यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा हेरफेर र राजदूत नियुक्ति गर्दा पार्टी तथा नेताहरुसँग कुनै परामर्श नगरेको भनी प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितका शीर्ष नेताहरुसँग प्रधानमन्त्रीको विवाद तिक्ततापूर्ण बनेको छ।

भारतीय नेता भेट्दा पनि पार्टीले थाहा पाएन
नेकपाभित्र ठूलो किचलो भइरहेका वेला भारतीय जनता पार्टीको विदेश विभाग इन्चार्ज विजय चौथाइवाले बिहीबार काठमाडौंमा प्रधानमन्त्री ओलीलाई भेटे । महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा आएका भनिएका उनले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेपनि नेकपा विदेश विभागले यसबारे अनभिज्ञता प्रकट गरेको छ । कार्यकारी अध्यक्ष प्रचण्ड पनि भ्रमणबारे जानकार नभएको स्रोतको भनाइ छ ।

ओलीका पछिल्ला गतिविधिले अब मिल्न निक्कै कठिन रहेको भन्दै प्रचण्ड निकट श्रोतले ओलीले जति मनोमानी गर्छन् त्यति नै घाटा उनलाई हुने चेतावनी दिएको छ । अब एक कदम पछि हट्ने पालो ओलीको भएको त्यसो नगरे उनी पार्टीको विधिबाट हुने निर्णबाट अफ्ठेरोमा पर्ने श्रोतको भनाई छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्