अपहरणपश्चात् युवकको हत्या, दुई पक्राउ – Janadesh Daily | ePaper

अपहरणपश्चात् युवकको हत्या, दुई पक्राउ


लहान ।

सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो ।

केही दिनअघि मात्रै लागुऔषध मुद्दामा अदालतबाट धरौटी तिरेर रिहा भएका रामको शव गत बुधबार सिरहाको मिर्चैया नगरपालिकास्थित बतहा खोला नजिकै शव फेला परेको थियो । तत्काल शवको पहिचान नभए पनि परीक्षणका लागि लहान अस्पतालमा राखिएको रामको शव रहेको शुक्रबार मात्रै पहिचान भएको थियो ।

गत असार २७ मा जेलमा सँगै बसेका साथीसँगै घरबाट गएका रामको शव फेला परेपछि परिवारजनले कतै उहाँको हत्या त भएको छैन रु भन्ने आशङ्का गरेपछि घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तु जयसवालले जानकारी दिनुभयो ।

लागुऔषध मुद्दामा जेलमा बसेका बेला साथीसँग लिएको सापटीबापतको रु एक हजार समयमा फिर्ता नगर्दा आफ्नो छोराले ज्यान गुमाएको उहाँका पिता सिफैत रामले बताउनुभएको छ । लकडाउनको समयमा रोशन लागुऔषधसहित वैशाखको अन्तिम साता लक्ष्मीपुर पतारीबाट पक्राउ परेका थिए । पक्राउ परेको समयमा उनलाई इलाका प्रहरी कार्यालय लहानको थुनामा राखिएको थियो ।

जेठको अन्तिम साता उनलाई जिल्ला अदालतले रु १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको तर रकम नहुँदा जेलमै गएका थिए । जेलमा रामको भेट लागुऔषध मुद्दामै कारागारमा रहेका मिर्चैया नगरपालिका–२ निवासी जयकुमार यादवसँग चिनजान भएको र कारागारमै यादवसँग रामले रु एक हजार ऋण लिएको र त्यो समयमा फिर्ता नदिएकाले आफ्नो छोराको हत्या भएको मृतकका पिता सिफैतको कथन छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्