जनादेश, काठमाण्डौ ।
सरकारले कोरोनाको खोप ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ७२ प्रतिशत जनसंख्यलाई खोप आवश्यक पर्ने आँकलनसहित त्यही अनुसारको तयारी सरकारले गरेको हो । मन्त्रालयले लागत कम लाग्ने तथा पूर्वाधार मैत्री खोप ल्याउने प्रयास हुने पनि जनाएको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालमा गरिएको ५ हजार १ सय ८१ नमूना परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्र ३ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २ सय ५८ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६५ जना रहेको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ९४ पुगेको छ ।
नेपालमा चौबीस घण्टामा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संखया १६ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।
आज विभिन्न अस्पतालमा गरेर १५ सय जना निको भएर डिस्चार्ज भएका छन् । योसंगै नेपालमा कोरोना संक्रमित भइ निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।
हालसम्म १८ लाख ३१ हजार ४१ जनामा कोरोना परीक्षण भएको छ भने १० हजार ९ सय ९४ जना इसोलेसनमा र ५ सय १६ जना क्वारेन्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।