जनादेश वाच ।
प्रधानमन्त्री केपी शर्मा ओली आफूले अघिल्लो दिन ल्याएको अध्यादेश फिर्ता लिनेगरी बुधबार फतक्क गले । पार्टीभित्र इतर पक्षका नेताहरुलाई थर्काउँदै आएका ओली एका एक गल्ने अवस्था आयो ।
त्यो गलाउने टाइम बम थियो संसदको अधिवेशन माग गर्दै नेकपाका ८३ सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लेखेको पत्र ।
८३ सांसदको हस्ताक्षर लिएर नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल शितल निवास पुगे पनि पत्र दर्ता भने भएन किन भने ओलीले अध्यादेश फिर्ता लिने बताए ।
ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नहुञ्जेल पत्र दर्ता नभएसम्म नफर्किने भन्दै रावल र भुसाल ६ घन्टाभन्दा बढी शितल निवासमै बसेका थिए ।
स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीले आइतबार ल्याएको अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएपछि राष्ट्रपतिलाई पठाइएको पत्र फिर्ता लिने सहमति भएको हो।
पत्रमा के छ तः
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्बोधन गरी लेखिएको पत्रमा प्रतिनिधि सभाको बैठक चालु नरहेको र बैठक बोलाउन बाञ्छनीय रहेको भनिएको छ।
‘जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात संवैधानिक परिषद (काम कर्तर्वय र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ,’ पत्रमा भनिएको छ।
संविधानको प्रावधान अनुसार प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाई बढी सांसदहरूले अबिलम्ब बैठक बोलाउन अनुरोध गरेको समेत पत्रमा उल्लेख छ।
हेर्नुस् पत्रः