कोरोनाः विश्वमा १ दिनमै १३ हजारको मृत्यु, भारत सर्वाधिक मृत्युको तेश्रो स्थानमा – Janadesh Daily | ePaper

कोरोनाः विश्वमा १ दिनमै १३ हजारको मृत्यु, भारत सर्वाधिक मृत्युको तेश्रो स्थानमा


एजेन्सी ।

विश्वमा कोरोना भाइरसविरुद्धको खोप सुरु भैसकेको भएपनि संक्रमण र मृत्युदर घट्ने संकेत देखिएको छैन । विश्वका विभिन्न देशमा दोश्रो लहरको महामारी चलिरहँदा मृतक संख्यामा दैनिक रेकर्ड कायम हुन थालेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ८२ हजार ५०९ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड ५ लाख १३ हजार ८७२ पुगेको छ । यसमध्ये १ लाख ७ हजार २३४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कुल संक्रमितको संख्या ७ करोड ४४ लाख ८२ हजार ४१६ पुगेको छ । त्यसमध्ये ५ करोड २३ लाख १४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

एकैदिन १३ हजारको मृत्यु
गत २४ घण्टामा १३ हजार १५९ संक्रमितको मृत्यु भएको छ । एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो । योसँगै विश्वभर १६ लाख ५४ हजार ६२ जनाको मृत्यु भएको छ ।

युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ६५६ जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै इटालीमा ६६ हजार ५३७ संक्रमितको मृत्यु भएको छ । यस्तै बेलायतमा ६५ हजार ५२० संक्रमितको मृत्यु भएको छ ।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख ६१ हजार ३४१ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ हजार २४५ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ३ लाख १४ हजार ३४७ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

एसियाली मुलुकमा ३ लाख १६ हजार ७१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४७७ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ४४ हजार ४८७ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख ४३ हजार ९३२ संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ८३ हजार ८२२ जनाको मृत्यु भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्