जाडो मौसममा प्राय सबैको घरमा हिटर जडान गरिएको हुन्छ । विषेश गरी शहरबजारमा सुत्केरी, बच्चालगाएत वृद्धवृद्धाका लागि हिटरको प्रयोग अत्याधिक गरिन्छ । यसको रापले न्यानो त हुन्छ नै तर यसका केही बेफाइदा समेत छन् जसबाट हामी सचेत हुन जरुरी छ । हिटरको रापले विषेश गरी हाम्रो छालामा असर पार्ने गर्दछ । जाडोको समयमा शरीर र कोठा न्यानो बनाउनुका साथसाथै हामीले यसका नकारात्मक असर कसरी कम गर्न सकिन्छ भन्नेतीर पनि ध्यान दिनुपर्छ ।
- हिटर नजिकै कुनै पनि कागज, ब्ल्यांकेटजस्ता बल्नसक्ने सामग्रीहरु राख्नु हुँदैन ।
- आवतजावत हुने स्थानमा हिटर राख्नु हुँदैन । विशेषगरी बच्चाहरुको पहुँचबाट हिटरलाई टाढा राख्नुपर्छ र यसलाई समथर सतहमा राख्नु राम्रो हुन्छ ।
- हिटरलाई बेलाबेलामा बन्द गर्ने र कोठा खोल्ने गर्दै गर्नुपर्छ । प्रयोग नभएको बेलामा हिटर बन्द गर्नु राम्रो हुन्छ । कोठा बन्द गरेर हिटर अन गर्दा त्यसबाट आउने कार्बन मोनोअक्साइडले मानिसको स्वास्थ्यमा निकै हानिकारक असर पार्छ ।
- मुटु तथा श्वासप्रश्वासजस्ता समस्या भएका मानिसहरुले सकेसम्म हिटरको प्रयोग गर्नुहुँदैन ।
- छालाको लागि पनि हिटरको प्रयोग राम्रो हुँदैन । लामो समय हिटरमा बस्नुले छाला सुख्खा हुन पुग्छ । यसका साथै हिटरले आँखा पनि सुख्खा हुनपुग्छ ।
- यदि कोठामा हिटर चलिरहेको छ भने समय समयमा पानी खाइरहुनपर्छ । त्यसका साथै चिया, कफी वा सुप पिइरहनु राम्रो हुन्छ । यसले छाला सुख्खा हुनबाट केही कम गर्न सक्छ ।