बन्दाबन्दीले राजश्व सङ्कलनमा कमी – Janadesh Daily | ePaper

बन्दाबन्दीले राजश्व सङ्कलनमा कमी


जनादेश, रासस

महेन्द्रनगर। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ ।

सो कार्यालयलाई वार्षिक रु ४८ करोड ६८ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको भएपनि बन्दाबन्दी लगायतका कारणले राजश्वमा कमी आएको हो । कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख नहकुल शर्माले गत आर्थिक वर्षमा रु २५ करोड ८४ लाख राजश्व संकलन भएको बताउनुभयो ।

केही वर्षयता भन्सारमा भएको आन्तरिक सुधार र अवैध सामान आयातमा नियन्त्रण गरिएपछि राजश्व बढेपनि ६ महिनायता कोरोनाले राजश्व प्रभावित बनेको छ । “बन्दाबन्दीले यहाँका नाकाहरु अझै प्रभावित भएको छ”, निमित्त कार्यालय प्रमुख शर्माले रासससित भन्नुभयो, “अझै भारतीय बजारबाट सामान आयात गर्ने वातावरण बनिसकेको छैन ।”

गड्डाचौकी नाकाबाट ठुला सवारी साधनभन्दा पनि साइकल र मोटरसाइकलमा बढी सामान ढुवानी हुने गरेको भन्सार कार्यालयको भनाइ छ ।“वनबासा पुलका कारण यहाँ आयात निर्यातका लागि ठूला सवारीसाधान चल्दैनन्”, शर्माले भन्नुभयो, “बन्दाबन्दी खुकुलो भएपनि नाका अझै सामान्य अवस्थामा आइसकेको छैन ।” उहाँले हाल गड्डाचौकी नाका दैनिक तीन घण्टा चलेको बताउनुभयो ।

त्यसैगरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ३४ करोड २० लाख राजश्व उठाउने लक्ष्य लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्