ओलीलाई अर्को झट्का, विप्लवले घोषणा गरे तीन पूर्वमाओवादी घटकसँगको मोर्चा – Janadesh Daily | ePaper

ओलीलाई अर्को झट्का, विप्लवले घोषणा गरे तीन पूर्वमाओवादी घटकसँगको मोर्चा


जनादेश, काठमाडौँ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्नेभएको छ । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमले पूर्वमाओवादी नेता मोहन वैद्य ‘किरण’ र विप्लवलाई एकै मोर्चामा ल्याएको हो । वैद्य र विप्लव दुवैले संविधानको विरोध गर्दै आएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको पछिल्ला कदमविरुद्ध चार पार्टीले रणनीतिक संयुक्त मोर्चा गठन गरेका छन् । विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, कम्युनिस्ट पार्टी नेपालले संसद् विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

चारओटै पार्टीले संसद् विघटन वैदेशिक शक्तिको आढ र भरोसामा भएको निष्कर्ष निकालेका छन् । देश र जनताको समस्या संसद् पुनःस्थापना या मध्यावधि निर्वाचनबाट हुन नसक्ने भन्दै संयुक्त मोर्चाले आफ्ना कार्यक्रम घोषणा गर्ने जनाएको छ । चार पार्टीले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ । यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकामाथि संकट थोपर्दै आएको उनीहरुको ठहर छ । विप्लव नेतृत्वको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको छ भने उनी भूमिगत छन् । विप्लव, वैद्य नेतृत्वको पार्टीबाटै छुट्टिएर गएका थिए । पूर्वमाओवादीहरु एक ठाउँमा आएपछि प्रधानमन्त्री केपी ओलीलाई अर्को झट्का लागेको छ । पुष्पकमल दाहाल प्रचण्ड भने पुनः शक्तिशाली बन्ने देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्