ओलीलाई प्रचण्डको चेतावनी- सिधा सिधा भन्न चाहन्छु, अन्तिमसम्म लड्छौं, पछारेर छोड्छौं – Janadesh Daily | ePaper

ओलीलाई प्रचण्डको चेतावनी- सिधा सिधा भन्न चाहन्छु, अन्तिमसम्म लड्छौं, पछारेर छोड्छौं


जनादेश अपडेट ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको भन्दै नेपाली जनताले परास्त गर्ने चेतावनी दिएका छन् ।

संसद विघटनको विरोधमा मंगलबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता प्रचण्डले संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको बताए ।

ओलीलाई चेतावनी दिँदै प्रचण्डले भनेने, ‘भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।’

प्रचण्डले अढाई सय वर्षको राजतन्त्र फाल्ने जनताले प्रतिगमनकारी र निरंकुश पक्षधरलाई सजिलै बढार्ने सक्ने बताए । सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तिमीहरूले समयमै सच्याएनौ भने अढाई सय वर्षको राजतन्त्र फाल्ने जनताले प्रतिगमनकारी र निरंकुश पक्षधरलाई जनताले सजिलै बडार्नेछन् ।’

अदालतमाथि भरोसा रहेपनि वास्तविक भरोसा जनतामाथि रहेको प्रचण्डको भनाई छ । ‘म भरोसा व्यक्त गर्दछु, सर्वोच्चले संविधानको भावना र मर्म बुझ्दैन भनेर म सोच्न पनि सक्दिनँ । तमाम बुद्धिजीवी र सबै राजनीतिक दलको भावनाविरुद्ध जान्छ भन्ने सोच्न पनि सक्दिनँ,’ प्रचण्डले भने, ‘केही असहज छ भने सर्वोच्चका लागि सहजीकरणका लागि हो, जनताले गरेको सहजीकरण हो, आजको प्रदर्शनलाई बुझिदिन अनुरोध गर्छु । यदि संविधानमाथिको निर्मम प्रहार सच्याउने कोसिस भएन भने यो भत्काउने मात्र हुनेछ, आन्दोलनको आँधीहुरी आउन बाँकी छ, नेपाली जनता जागिसकेका छन् । छोड्ने छैन जनताले, प्रतिगमनका पक्षपातीलाई खबरदारी गर्छु । झुक्याएसी झुक्किन्छन् भन्ने ठानेको हो भने त्यो ठूलो भूल हुनेछ ।’

प्रचण्डले प्रधानमन्त्री केपी ओली अहिलेसम्म पनि बयलगाढावाला सिद्धान्तमै अडिग रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई स्वीकार गरिनसकेको र बयलगाडाकै सिद्धान्तमा रहेको टिप्पणी प्रचण्डले गरेका हुन् । ‘गणतन्त्रको पक्षमा आँधीहुरी आए पनि म स्वीकार्छु भन्नुभएको थियो । तर, ओलीले मनबाट गणतन्त्र स्वीकार गर्नुभएको थिएन । प्रतिनिधिसभा विघटन गरेर उहाँ बयलगाडामा नै अडिग रहेको प्रष्ट देखिएको छ । उहाँलाई चिन्न नसकेकोमा म जनतासमक्ष माफी माग्न चाहान्छु,’ प्रचण्डले भने ।

प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीतर्फ संकेत गर्दै दुई जनाले सदन हत्या गर्न नमिल्ने बताए। ‘सदनलाई दुई जना व्यक्तिले हत्या गर्न मिल्छ? मिल्दैन,’ उनले भने, ‘जरूरी परे योभन्दा अलि कडा, कठोर संघर्षमा जानुपर्छ।’

उनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याउन अन्तिमसम्म लड्ने पनि उनले बताए । केपी ओलीलाई चिन्न नसकेको भन्दै उनले क्षमासमेत मागेका छन् ।

प्रधानमन्त्री ओली केही समयदेखि नियोजित ढंगले प्रतिक्रान्तिमा जाने तयारीमा रहेकोसमेत उनले बताएका छन्। उनले प्रतिनिधिसभा नभई प्रधानमन्त्री ओलीको सरकार विघटन भएको बताए । प्रतिनिधिसभा विघटन असंवैधानिक कदम रहेकाले यसविरुद्धमा अझै सशक्त आन्दोलन हुनुपर्ने प्रचण्डको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्