इतर पक्ष चुनावसँग डराएको ओलीको आरोप, भने- माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता – Janadesh Daily | ePaper

इतर पक्ष चुनावसँग डराएको ओलीको आरोप, भने- माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता


जनादेश अपडेट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्था अनुसार संसद पुनर्स्थापना हुन नसक्ने जिकिर गरेका छन् ।

 

बधबार काठमाडौंको एक पार्टी प्यालेसमा आयोजित आफू पक्षीय नेता कार्यकर्ताको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बहुमत प्राप्त सरकार प्रमुखले गरेको निर्णय अदालतले उल्टाउन नसक्ने दावी गरे । संसद पुनस्थापनाको कुनै सम्भावना नभएकाले सडक संघर्षको बाटो छोडेर निर्वाचनमा केन्द्रीत हुन ओलीले आग्रह गरेका छन् ।

 

आफु संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको प्रधानमन्त्री ओलीको तर्क छ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जालझेल र षडयन्त्रको राजनीति गरेको पनि आरोप लगाए । आफुले मित्रताले अंगालो हालेपनि दाहालले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको आरोप छ ।

दाहालको ध्यान कसरी कब्जा गर्ने र हत्याउने भन्ने मात्रै रहेको आरोप ओलीको छ । एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि दाहाल र माधव नेपाललाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग गरिएको आरोप ओलीले लगाए ।

माधव नेपालको हैसियत दाहालको मामुली कार्यकर्ताको भएको भन्दै ओलीले कटाक्ष पनि गरेका छन् ।

चुनाव गर्दा लोकतन्त्र, गणतन्त्र नसकिने तर्क गर्दै ओलीले दाहाल नेपाल पक्षले पार्टी एकतालाई टुंग्याउन नदिएको, संवैधानिक आयोगलाई पूर्णता दिन नचाहेको तथा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, राष्ट्रपति लगायत संवैधानिक आयोगहरुलाई महाअभियोग लगाउन खोजेको आरोप लगाए । आगामी चुनाव निष्पक्ष र धाधँलीरहित रहने जिकिर ओलीले गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्