कानून कार्यान्वयनमा नचुक्नुस् ः प्रहरी महानिरीक्षक – Janadesh Daily | ePaper

कानून कार्यान्वयनमा नचुक्नुस् ः प्रहरी महानिरीक्षक


 

काठमाडौँ, ५ साउन (रासस) ः

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको कार्यान्वयनमा नझुक्न र नचुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल पुलिस क्लबमा आज आयोजित महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्देशन दिनुभएको हो ।

प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उहाँले बताउनुभयो ।

अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रहरी सङ्गठनले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशासम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उहाँले प्रशंसा गर्दै लकडाउन खुलेपछि हुनसक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी महानिरीक्षकबाट प्राप्त निर्देशन सम्बोधन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता थियो ।

‘लिडार स्पिड गन’ हस्तान्तरण

यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई आठ थान ‘लिडार स्पिड गन’ प्रदान गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई विभागका महानिर्देशक गोगनबहादुर हमालले रु ८४ लाख मूल्यबराबरका उक्त गन हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन प्रदान गरेकामा विभागलाई धन्यवाद दिनुभयो ।

विभागका महानिर्देशक हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको बताउनुभयो ।

समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान, स्मार्ट लाइसेन्स वितरणलगायतका कार्य गरिरहेको जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्