नेपाली क्रिकेटको भविष्य मानिएका ६ खेलाडी – Janadesh Daily | ePaper

नेपाली क्रिकेटको भविष्य मानिएका ६ खेलाडी


नेपाली महिला क्रिकेट टोलीले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा मलेसियामा एसिसी वुमन्स टि२० क्रिकेट खेलेको थियो । पहिलो अन्तर्राष्ट्रिय खेलमै फाइनलमा बंगलादेशसँग पराजित हुँदै उप विजेतामा सिमित भएको थियो ।

त्यस प्रदर्शनकै आधारमा धेरैले नेपाली महिला क्रिकेट पुरुष भन्दा धेरै छिटो माथि जाने अनुमान गरेका थिए । हालसम्म पनि नेपाली महिला क्रिकेट टोली अन्तर्राष्ट्रिय स्तरमा उपविजेतामै सिमित हुँदै आएको छ । खेलाडीको एकल प्रयासले उपाधि जित्न प्राप्त हुन पनि सक्दैन । महिला क्रिकेटलाई अघि बढाउन लगानी र दीर्घकालिन कुनै योजना देखिदैन । घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता चाडपर्वका रुपमा रहँदै आएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक महिला टोलीलाई पारिश्रमिक दिने तयारी गरिरहेको छ । महिला क्रिकेट विकासको लागि यो महत्त्वपूर्ण कदम भएपनि योमात्र पर्याप्त भने छैन । राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीले महिला क्रिकेटलाई अव पनि लगानी र दीर्घकालिन सोचका साथ अघि नबढेको खण्डमा आगमी दिनमा खेलाडी खोज्न गाह्रो हुने बताउँने गर्दछिन् ।

पहिलो अन्तराष्ट्रिय खेल खेल्दा र अहिलेको महिला टोलीको स्तरमा खासै फरक देखिदैन । धेरैले पहिलाको भन्दा अझ स्तर खस्किएको बताउँछन् । उमेर समूहको खेल शून्य जस्तै छ । घरेलु प्रतियोगिता दुई तीन वटा हुँदा राष्ट्रिय टोलीमा पहिलो पुस्ताकै खेलाडीको बाहुल्यता छ । निरन्तर परिवर्तन हुने प्रशिक्षक अर्को प्रमुख समस्या हो ।

गतवर्ष नेपालमा क्विन्स इभेन्ट्स म्यानजमेन्ट प्रा.लीले पहिलो पटक वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) प्रतियोगिता गरेको थियो । उक्त डब्लूसिएलमा युवा खेलाडीले अवसर पाएमा महिला टोलीको भविष्य सुनौलो रहेको देखाएका थिए । पछिल्लो समय अनुभवी र युवा खेलाडीबीच कसले उत्कृष्ट प्रर्दशन गर्ने भन्नेमा प्रतिस्पर्धा बढ्दै गएको छ ।

यस्ता प्रतियोगिताले नेपाली क्रिकेटलाई फाइदा पुग्ने छ । घरेलु क्रिकेटमा थुप्रै प्रतिभाशाली खेलाडी देखिएका छन् । ती प्रतिभाशाली युवा खेलाडी कतिसम्म सदुपयोग गर्छ त्यसले महिला टोलीको भविष्य निर्धारण गर्ने छ । नेपाली महिला क्रिकेट टोलीको भविष्य मानिएको ६ युवा खेलाडी ।

६. कृतिका मरासैनी (स्पिनर)

युवा स्पिनर कृतिका मरासैनीले डब्लूसिएल विराटनगर टाइटन्सबाट खेल्दै विकेट लिन असफल भएपनि कसिलो बलिङ गर्दै राम्रो प्रभाव छोडेकी थिईन् । गतवर्ष चीनमा भएको बि एण्ड आर यू१९ प्रतियोगितामा कृतिका ११ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडी बनेकी थिइन् ।

धनगढीमा गतवर्ष भएको मुख्यमन्त्री कप प्रतियोगितामा प्रदेश पाँचबाट खेल्दै पनि उत्कृष्ट बलर चुनिएकी थिइन् । कृतिका उमेरले भर्खर १६ वर्ष पुगेकी छिन् । उमेर बढ्दै जाँदा उनको प्रर्दशनमा निखारता आउदै जाने छ । पछिल्लो समय सामाजिक सञ्जालमा बढी सक्रिय देखिने कृतिका त्यसको असर प्रर्दशनमा पर्ने हो की भन्ने चिन्ता पनि त्यतिनै छ ।

५. कञ्चन श्रेष्ठ (ब्याट्सम्यान)

युवा ब्याटर कञ्चन श्रेष्ठले घरेलु प्रतियोगितामा राम्रो सम्भावना देखाएकी छिन् । डब्लूसिएलमा चितवन राइनोजलाई उपाधि दिलाउन कञ्चनले महत्वपूर्ण योगदान दिएकी थिइन् । २२ वर्षीय उनले ५ खेलमा ८८ रन बनाएकी थिइन् । विकेटकिपर समेत रहेकी कञ्चनले साग अघि माल्दिभ्ससँगको खेलमा नेपाल ए को कप्तानी गर्दै १४ रन जोडेकी थिइन् ।

ओपनिङ ब्याटिङ कञ्चनको खेल्ने पोजिसन हो । शारीरिक फिटनेशमा पनि उत्कृष्ट कञ्चन सिनियर टोलीका बन्द प्रशिक्षणमा पर्दै आएकी छिन् । राम्रो साझेदारी गर्दै टोलीलाई अगाडि बढाउने क्षमता कञ्चनमा छ । आगमी दिनमा सिनियर टोलीमा पर्दै लामो यात्रा गर्न सक्ने सम्भावना देखिन्छ ।

४. ईश्वरी बिष्ट (तीव्र गतिकी बलर)

तीव्र गतिकी बलर ईश्वरी बिष्ट गतवर्ष भएको डब्लूसिएलमा क्याट क्विन्स काठमाडौंबाट खेल्दै उदयमान खेलाडी घोषित भएकी थिइन् । काठमाडौं उपविजेता हुँदा ६ खेलमा ६ विकेट लिदै उत्कृष्ट प्रभाव छोडेकी थिइन् ।

ईश्वरी बाउन्सर बलको लागि परिचित छिन् । उनी तल्लोक्रममा ब्याटिङको क्षमता समेत राख्ने गर्दछिन् । उमेरसँगै उनको गति अझ बढ्ने छ । उनलाई आगमी दिनमा महिला क्रिकेट टोलीको तीव्र गतिको बलरको रुपमा हेरिएको छ ।

३. डली भट्ट (अलराउन्डर)

अलराउन्डर डली भट्टले राष्ट्रिय महिला क्रिकेट टोलीबाट खेलि सकेकी छिन् । आक्रामक ब्याटिङका गर्ने डलीले मध्य गतिमा बलिङ गर्ने गर्दछिन् । १८ वर्षीय डलीको कप्तानीमा गतवर्ष चीनमा नेपालले बि एण्ड आर यू१९ प्रतियोगिता खेलेको थियो । डलीले विराटनगरबाट डब्लूसिएल खेलिकी थिईन् । उनी ठूला सट खेल्न रुचाउँछिन् ।

डब्लूसिएलमा डलीको खेल हेदैं राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का नेपाली महिला क्रिकेटकी काइरान पोलार्ड (वेस्ट इन्डिजका विश्फोटक ब्याट्सम्यान) को उप नाम दिएका थिए । डली टि२० शैलीको प्रतियोगितामा बढी उपयोगी हुने खेलाडी हुन् । उनको शारीरिक बनावटले पनि आक्रामक ब्याटिङ खेल्न सहज बनाउँछ । डली आगमी दिनमा जतिधेरै खेलको अनुभव लिदै जान्छिन् त्यतिनै उनको प्रर्दशनमा निखारता आउँने छ । त्यसका लागि जिम्मेवारीका साथ प्रर्दशन गर्ने भने आवश्यक पर्दछ ।

२. सुमन खतिवडा (अलराउन्डर)

डब्लूसिएलमा चितवन राइनोजलाई च्याम्पियन बनाउन उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेकी सुमन खतिवडाले गत सागमा माल्दिभ्सविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । तीव्र गतिका बलिङ गर्ने २० वर्षीय सुमनले आक्रामक ब्याटिङका साथ रन जोड्ने गर्दछिन् । डब्लूसिएलमा सुमनले ७४ रन बनाउँनुको साथै ६ विकेट लिएकी थिइन् । सुमन तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै खेल अन्त्य (फिनिसर) भूमिका निर्वाह गर्नेगर्दछिन् ।

सुमनले सागमा डेब्यु खेलमा माल्दिभ्सविरुद्ध २ ओभरमा १ मेडन सहित १ रन खर्चेर १ विकेट लिएकी थिइन् । सुमनलाई आफ्नो उत्कृष्ट प्रर्दशनमा आगमी दिनमा महिला क्रिकेटलाई अगाडि बढाउने आशा गरिएको छ । समुन महिला क्रिकेटमा ठूलो सम्भावना बोकेकी युवा अलराउन्डर हुन् ।

१. कविता कुँवर (अलराउन्डर)

कविता कुँवर नेपाली महिला क्रिकेट टोलीकी प्रमुख सदस्य हुन् । १६ वर्षीय कुवितारले नेपालबाट १२ टि२० आई खेलमा ९ विकेट लिइसकेकी छिन् । तीव्र गतिमा बलिङ गर्ने कविताले मध्यक्रममा ब्याटिङ गर्ने गर्दछिन् । जिम्मेवारीका साथ ब्याटिङ गर्ने कविताले डब्लूसिएलमा पोखरा पल्टनबाट खेल्दै अलराउन्डर प्रर्दशन गरेकी थिइन् ।

कविताले डब्लूसिएलमा ललितपुर फाल्कोन्सविरुद्ध ४२ बलमा १० चौका सहित ६१ रनमा अविजित रहँदै ‘प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन् । गतवर्ष भएको प्रधानमन्त्री कप टि-२० प्रतियोगिताको बेस्ट ब्याट्सवुमन पनि बनेकी थिइन् । गतवर्ष थाईल्यान्डमा भएको वुमन्स टि२० स्याम्समा चीन विरुद्ध डेब्यु गरेकी उनले नेपाललाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिएकी थिइन् । उक्त प्रतियोगिताको एक महिनापछि थाईल्यान्डमै भएको आईसिसी वुमन्स टि२० विश्वकप एसिया रिजन क्वालिफायरमा नेपाललाई फाइनलमा पुग्दा उनको प्रर्दशन महत्वपूर्ण थियो ।

१३ औं सागमा महिला टोलीले कास्य पदक जित्दा टोलीको प्रमुख सदस्य थिइन् । घरेलु प्रतियोगितामा पनि कविताले उत्कृष्ट प्रर्दशन गर्दै आएकी छिन् । कविता उमेरले भर्खर १६ वर्षकी भिएकी छिन् । उमेर बढ्दै जादा उनको प्रर्दशनमा अझ निखारता आउने छ । कविताले बलिङ र ब्याटिङ दुबैबाट खेल जिताउँन सक्ने क्षमता राख्ने गर्दछिन् । धेरैले कवितालाई रुविनाको सन्न्यास पछि उनको अभाव महसुस हुन नदिने युवा खेलाडी पाएको समेत भन्ने गर्दछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्