संसद भवन आक्रमणबारे अमेरिकी राष्ट्रपति ट्रम्पले भने- मैले जे गरें ठिक गरें – Janadesh Daily | ePaper

संसद भवन आक्रमणबारे अमेरिकी राष्ट्रपति ट्रम्पले भने- मैले जे गरें ठिक गरें


एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गरेका छन् । आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि भाषण गरेका ट्रम्पले त्यसको बचाउ गरेका हुन् ।

गएको बुधबार आफूले गरेको सम्बोधन पूर्ण रुपमा जायज र उचित रहेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले सो भाषणाको क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित (केही) आएका समर्थकलाई संसद भवनमा घुस्न सुझाएका थिए । त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए ।

नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएका हुन् ।

संसद भवनमा भएको हिंसामा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो । तर ट्रम्पले भने सो आक्रमणका लागि उक्साउने आफ्नो कार्य पूर्ण रुपमा उचित रहेको बताएका हुन् ।

संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । ट्रम्पले सो कार्य हाँस्यास्पद भन्दै खारेज गरेका छन् । तल्लो सदनमा बुधबार महाभियोग प्रस्तावमाथि मतदान हुने तयारी छ ।

ट्रम्प जनवरी २० मा सत्ताबाट बाहिरिँदै छन् । जो बाइडेनले सो दिन शपथ लिएर अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

महाअभियोग प्रस्तावले देशमा ठूलो मात्रामा आक्रोशको खतरा सिर्जना गरेको बताएका ट्रम्पले आफू हिंसाको पक्षमा भने नरहेको दाबी गरे ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण गरिएको पर्खालको केही भाग अवलोकनका लागि टेक्सास जाने क्रममा ट्रम्पले ह्वाइट हाउसमा पत्रकारलाई प्रतिक्रिया दिएका हुन् ।

गएको बुधबार संसद भवनअघि जम्मा भएको समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले संसद भवनमा मार्च गर्न भनेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्