भारतबाट आएको कोरोना खोपबारे सतर्क रहनै पर्ने कुराहरु – Janadesh Daily | ePaper

भारतबाट आएको कोरोना खोपबारे सतर्क रहनै पर्ने कुराहरु


जनादेश हेल्थ डेस्क ।

नेपालमा पनि कोरोनाविरुद्धको खोप भित्रिएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज खोप विहीबार काठमाडौं आइपुगेको छ ।

नेपालले हालैमात्र सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोपका लागि आपतकालीन प्रयोग स्वीकृति प्रदान गरेको थियो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको यो खोपको प्रभावकारिता ७० प्रतिशत – ९० प्रतिशत रहेको तथ्य विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।

भारतमा यो खोप ४ लाख व्यक्तिलाई लगाउँदा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीमध्ये १ जनाको हर्ट अट्याकबाट मृत्यु भएको थियो । नर्बेमा २९ जना ज्येष्ठ नागरिकको मृत्यु भएको थियो तर त्यहाँ यो खोप होइन, फाइजरको खोप लगाइएको थियो।

यी समाचारका कारण भारतबाट आएको खोप कस्तो हो? लगाउँदा के होला भन्ने आशंका नेपालका आम मानिसमा देखिन्छ । भारतमा कोरोना खोप लगाएकाहरु विरामी परेका समाचार आएपछि नेपालमा यसबारे शंशय बढेको छ ।

कस्तो हो त नेपाल आएको खोप !

कोभिशिल्ड खोप तुलनात्मक रूपमा सुरक्षित मानिएको छ। यो खोपको भारतलगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्र्याल गरिएको थियो । नेपालमा आएको कोभिशिल्ड खोप ३ हप्ताको अन्तरमा २ वटा लगाउनुपर्छ । दोस्रो मात्रा लगाएको १ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्धको एन्टिबडी बन्ने बताइएको छ ।

पहिलो खोप लगाएपछि पनि कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ। जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्नुपर्दछ। यो खोपको भारतमा ०.१५ प्रतिशतलाई साइड इफेक्ट देखिएको जनाइएको छ । खोप लगाएपछि रियाक्सन भएर एनाफाइलेटिक सकको खतरा हुनसक्छ। यस्तो भएमा आकस्मिक सुईको प्रयोगले अधिकांश व्यक्ति निको हुन्छन् । सामान्य साइड इफेक्टक रूपमा ज्वरो आउने, टाउको दुख्ने, खोप लगाएको ठाउँमा दुख्ने्, गिर्खापर्नेलगायत हुनसक्छ, जुन ५ देखि ७ दिनसम्म रहनसक्छ ।

बढी सतर्क हो हुने, कसले नलगाउने ?
कुनै खोपको एलर्जी भएका, कुनै औषधिको एलर्जी भएका, अण्डालगायत खाद्य पदार्थको एलर्जी भएका तथा विगतमा कुनै पनि औषधिको रियाक्सन भएका व्यक्तिले विशेष परामर्श गरेर मात्र चिकित्सकको निगरानीमा खोप लगाउनुपर्छ।

गर्भवती, सुत्केरी, गर्भवती हुने योजना बनाएका महिला तथा बालबालिकामा यथेष्ट अनुसन्धान भएको छैन। तसर्थ नलगाउनु सुरक्षित हुन्छ। दीर्घरोगहरू जस्तै क्यान्सर, मुटु, किड्नी, फोक्सो, मस्तिष्क, ब्लिडिङ डिसअर्डर, प्लेटलेटसम्बन्धी समस्या, स्नायु प्रणाली आदि समस्या भएका व्यक्तिले यथेष्ट सुरक्षा अनुभूति भएपछि वा विशेषज्ञको निगरानीमा केही समयपछि लगाउनु बुद्धिमानीपूर्ण हुन्छ।

अन्य खोप कसरी र कहिले आउला ?
विश्व स्वास्थ्य संगठन, यूरोपियन युनियन र फ्रान्सद्वारा कोभिड-१९ को निदान, उपचार र खोपहरूको लागि नयाँ र न्यायिक पहुँच प्रदान गर्ने उद्देश्यको साथ सुरु गरिएको कोभ्याक्स मार्फत विश्वका अविकसित देशहरूलाई कोरोनाविरुद्धको खोप प्रदान गरिने व्यवस्था छ । यस अन्तर्गत अविकसित देशको ३ प्रतिशत जनसंख्यालाई पहिलो चरण र १७ प्रतिशत जनसंख्यालाई दोस्रो चरण गरी कुल २० प्रतिशत मानिसलाई खोप लगाइनेछ । नेपालले पनि पहिलो चरणमा आफ्नो जनसंख्याको ३ प्रतिशत अर्थात ९ लाख ११ हजारका लागि हुने खोप प्राप्त गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्