मनहरि तिमिल्सिनाको ‘कम्युनिष्ट स्कुल’ बजारमा – Janadesh Daily | ePaper

मनहरि तिमिल्सिनाको ‘कम्युनिष्ट स्कुल’ बजारमा


काठमाडौँ, १० माघ ।
कम्युनिष्ट विचार र आचारण कमजोर भएको अवस्थामा माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको ज्ञानले सुसज्जित पुस्तक ‘कम्युनिष्ट स्कुल’ सार्वजनिक भएको छ । माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र देवेन्द्र पौडेलले संयुक्तरूपमा सो पुस्तकको लोकार्पण गर्नुभयो ।

माक्र्सवादी अध्ययन र लेखनमा रुचि राख्ने मनहरि तिमिल्सिनाले लेख्नुभएको उक्त पुस्तकले कम्युनिष्ट आन्दोलनमा क्रियाशील कार्यकर्तालाई माक्र्सवादी विचार र आचारका निम्ति अभिप्रेरित गर्ने विश्वास लिइएको छ । उहाँका अनुसार माक्र्सवादी विश्व दृष्टिकोण निर्माण एवं अध्ययनको व्यवस्थित पद्धतिका निम्ति पुस्तक निकै महत्वपूर्ण रहेको छ । माक्र्सवादको सिलसिलाबद्ध अध्ययन र विश्लेषण गर्न चाहने पाठकका लागिसमेत पुस्तक उपयोगी छ । जनमतका दृष्टिले उर्वर तथा ज्ञान र व्यवहारका दृष्टिले कमजोर बन्दै गएको नेपालको कम्युनिष्ट आन्दोलनमा सो पुस्तकले वैचारिक खुराक प्रदान गर्ने बताइएको छ ।

पुस्तकमा विभिन्न पाँच खण्ड रहेका छन् । दर्शनशास्त्र, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास तथा विज्ञान र प्रविधि खण्ड छन् । मुख्यतः दर्शनशास्त्र खण्डको पश्चिमा दार्शनिकको सूचीमा हेविड ह्युम, इम्यानुयल कान्ट, गोटलिव फिक्टेबारे संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ । त्यसैगरी दर्शकै क्षेत्रमा केही गैरमाक्र्सवादी प्रवृत्तिको समावेश गरिएको छ । माक्र्सवादी राजनीतिक अर्थशास्त्रमा दलाल नोकरशाही पूँजीवाद, पूँजीवाद र सूचना प्रविधि विषय थप गरिएको छ ।

पुस्तकको दोस्रो संस्करणमा वैज्ञानिक समाजवाद खण्डमा वामपन्थी र कम्युनिष्ट, विश्वका कम्युनिष्ट मुलुकहरु, विद्रोही नेकपाको एकीकृत जनक्रान्तिको सिद्धान्त थप गरिएको लेखक तिमिल्सिनाले जानकारी दिनुभयो । यसैगरी विश्वप्रसिद्ध कम्युनिष्ट नेताको सूचीमा क्लारा जेट्किन, म्याक्सिम गोर्की, होची मिन्ह, किमइल सुङ, चारु मजुमदार, फिेडल क्यास्ट्रो, गोञ्जालोलगायत नेताको योगदान प्रस्तुत गरिएको छ । विश्वप्रसिद्ध सुधारवादी नेताहरुका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ ।

यस संस्करणमा कम्युनिष्ट इतिहासमा पनि केही विषय थप गरिएको छ । मुख्यतः विश्व कम्युनिष्ट आन्दोलनमा गोथा कार्यक्रम, अन्तर्राष्ट्रिय श्रमिक दिवस, वर्तमानमा कम्युनिष्ट आन्दोलन थप गरिएको छ । इतिहासकै खण्डमा झापा विद्रोह, पञ्चायती व्यवस्था र जनआन्दोलन २०६२/६३, कम्युनिष्ट आन्दोलनका उपलब्धि र कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानबारे चर्चा गरिएको छ । पुस्तकले पाठकलाई आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउन सघाउ पुग्ने विश्वास लेखक तिमिल्सिनाले गर्नुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्