मिर्गौलापीडित दमौलीका राजुको उपचारका लागि सहयोग जुट्दै – Janadesh Daily | ePaper

मिर्गौलापीडित दमौलीका राजुको उपचारका लागि सहयोग जुट्दै


जनादेश, दमौली

 दुवै मिर्गौला फेल भएर डायलासिस गराइरहनुभएका व्यास नगरपालिका–४ घर भई हाल चितवन बस्नुहुने राजु श्रेष्ठको उपचारका लागि हालसम्म १९ लाख सङ्कलन भएको छ ।
सहयोग जुट्ने क्रम जारी छ । दमौलीमा लामो समय भिडियोग्राफरका रुपमा काम गर्दै आउनुभएका श्रेष्ठको एक्कासि मिर्गौलामा समस्या देखिएपछि उहाँको उपचारका लागि देश तथा विदेशबाट रकम सङ्कलन अभियान शुरु भएको छ । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक रकम नभएपछि साथीभाइसँग अनुरोध गर्दा देश विदेशबाट रकम आउन थालेको श्रेष्ठले बताउनुभयो ।
सोमबार दमौलीका स्व अभिमन्यु प्रधान र शान्ताको स्मृतिमा उहाँका परिवारले श्रेष्ठको उपचारका लागि रु एक लाख २५ हजार सहयोग गरेको हो । आमाबुबाको स्मृतिमा छोरीहरु मीना, सुनिता, बिनिता, नम्रता, छोराहरु राजु र सञ्जय प्रधानले श्रेष्ठको उपचारका निम्ति सहयोग गर्नुभएको हो ।
त्यस्तै पोखराका नवीन नापितबाट रु ३६ हजार र क्यानडामा बस्दै आएका दमौलीका करुण गौतमबाट रु ११ हजार एक सय ११ सहयोग प्राप्त भएको छ । केही दिनअगाडि मात्रै दमौलीमा रहेका विभिन्न व्यक्तिको पहलमा सङ्कलन भएको रु चार लाख ५९ हजार छ सय पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । दमौलीसहित नेपालका विभिन्न जिल्ला र जापान, कतार, हङकङ, बेल्जियमा बसोबास गर्दै आएका शुभेच्छुकबाट सङ्कलित रकम श्रेष्ठलाई प्रदान गरिएको रकम सङ्कलनकर्ता वीरेन्द्र घर्तीले जानकारी दिनुभयो ।
दुःखमा परेकालाई सहयोग गर्नु जति ठूलो मानवीयता अरू केही नहुने भन्ने सोचका साथ सबै साथीभाइबीच हातेमालो गरेर सहयोग सङ्कलन गरिएको उहाँले बताउनुभयो । त्यस्तै श्रेष्ठको उपचारका लागि दमौलीस्थित लायन्स क्लब अफ तनहुँ दमौलीबाट रु ४० हजार, जनभावना नेवाः खल मिसा पुचः बाट रु ४० हजार र दमौलीमा सङ्कलन गरिएको रु एक लाख ११ हजार पाँच सय ४७ प्रदान गरिएको थियो ।
त्यसैगरी श्रेष्ठको उपचारका लागि बेलायतबाट रु पाँच लाख ६८ हजार सहयोग प्राप्त भएको छ । केही महिनाअगाडि मिर्गौलामा समस्या देखिएपछि चितवनस्थित मेडिकल कलेजमा जाँच गरी औषधि सेवन गर्नुभएका श्रेष्ठको औषधिले काम नगरेपछि थप जाँच गर्दा दुवै मिर्गौला फेल भएको पुष्टि भएको थियो ।
“दुवै मिर्गौलामा समस्या आएपछि चिकित्सकहरुले नियमित डायलासिसलगायत उपचार प्रक्रिया शुरु गर्न सुझाव दिए पनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको थियो, अहिले आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ”, उहाँले भन्नुभयो । रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्