प्रचण्ड-नेपालको केन्द्रीय कमिटी बैठकसँग किन तर्सियो ओली समूह, यस्तो छ कारण – Janadesh Daily | ePaper

प्रचण्ड-नेपालको केन्द्रीय कमिटी बैठकसँग किन तर्सियो ओली समूह, यस्तो छ कारण


जनादेश वाच ।

नेकपामा बहुमत केन्द्रीय सदस्यसहितको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले सोमबार (आज) केन्द्रीय कमिटी बोलाएको छ ।

बैठक बिहान ११ बजेका लागि बबरमहलस्थित कार्की ब्यांक्वेटमा बोलाइएको छ । माघ ११ गते साँझ बसेको निर्वाचन आयोगको आन्तरिक बैठकले नेकपा विभाजित नभएको र दुवै पक्षले गरेका बैठक र निर्णयलाई अवैधानिक भनेपछि पहिलोपटक नेकपाको एक पक्षको बैठक बस्न लागेको हो ।

सोही पक्षको माघ ११ गते अपराह्न बसेको स्थायी कमिटी बैठकले केपी ओलीलाई साधारण सदस्यबाट पनि निष्काशन गरेको थियो । त्यसअघि माघ ५ गते ओलीलाई स्पष्टीकरण सोधिएको थियो। तर उनले जवाफ दिएका थिएनन् । आजको केन्द्रीय कमिटी बैठकले त्यो निर्णयलाई अनुमोदन गर्ने र औपारिकरुपमा ओलीलाई निकाला गर्ने बताइएको छ ।

ओली समूहको आपत्ति

प्रधानमन्त्री ओली पक्षले प्रचण्ड-नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठक अवैध रहेको दाबी गरेको छ । विधानमा पार्टीको बैठक अध्यक्षसँगको परामर्शमा पार्टी महासचिवद्वारा बोलाइने व्यवस्था रहेको भन्दै महासचिवद्वारा कुनै पनि बैठक नबोलाइएको कार्यालय सचिव ईश्वरी रिजालले दाबी गरेका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक बोलाइएको भन्ने प्रेषित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ। पार्टीको विधान, अभ्यास, प्रचलन र पछिल्लो पटक निर्वाचन आयोगको निर्णय (अभिलेखीकरण) अनुसार पार्टीको आधिकारिक बैठक अध्यक्षसँगको परामर्शमा पार्टी महासचिवद्वारा बोलाइने भन्ने स्पष्ट छ’ रिजालद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘यस अनुसार कमरेड महासचिवद्वारा कुनै पनि बैठक नबोलाइएको व्यहोरा जानाकारी गराइन्छ।’

किन डराएको हो ओली समूह

ओली समूह केन्द्रीय किमिटीको बैठकसँग डराउनुको मुख्य कारण निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय हो । विवाद सुरु हुनु अघिको विद्यमान कमिटीलाई मान्यता दिने र त्यसको बहुमतले गरेका निर्णयमात्र मान्य हुने संकेत गरेकाले ओली समूह तर्सिएको हो ।

आफू चरम अल्पमतमा रहेको ओली समूहले केन्द्रीय किमिटीलाई विस्तार गरेर ११ सय ९९ सदस्य बनाएको भएपनि आयोगले त्यसलाई नमान्ने बताइसकेको छ । त्यसैकारण पार्टीको बहुमत सदस्यसहितको पक्षको निर्णय कालान्तरमा आधिकारिक बन्ने भएकाले ओली समूहले केन्द्रीय कमिटी बैठक प्रति आपत्ति जनाएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्