पहिरोमा पुरिएर मृत्यु भएका प्रतिपरिवारलाई डेढ/डेढ लाख – Janadesh Daily | ePaper

पहिरोमा पुरिएर मृत्यु भएका प्रतिपरिवारलाई डेढ/डेढ लाख


पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई रु एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पुरिएर मृत्यु भएका चार जनाको परिवारलाई केन्द्रीय सरकारको रु एक लाख र प्रदेश सरकारको रु ५० हजार गरी प्रतिपरिवार रु एक लाख ५० हजारका दरले रु छ लाख र गल्याङ नगरपालिका–९ साङ्लियाका एक परिवारलाई रु ५० हजार राहत मङ्गलबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले मृतकको घरघरमै पुगेर राहत रकम उपलब्ध गराउनुभयो ।

गल्याङ–९ साङ्लियाको पहिरोमा पुरिएर मृत्यु भएकाको परिवारलाई यसअघि नै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले रु एक लाख उपलब्ध गराउनुभएको थियो । मङ्गलबार नै मन्त्री चुमानले कालीगण्डकी गाउँपालिकामा चार जनाको ज्यान जाने गरी आएको पहिरोको स्थालगत अवलोकन तथा निरीक्षणसमेत गर्नुभयो ।

गत असार ३० गते कालीगण्डकी गाउँपालिका–४ खहरेमा आएको पहिरोमा पुरिएका तीन जनाको शव फेला परेसँगै सामूहिक अन्त्येष्टि गरिएको थियो भने एक जनाको एक हप्ता बित्दा पनि अझै शव फेला पर्न सकेको छैन ।

पहिरोमा पुरिएको शव फेला पार्न नसकेपछि सोमबार कुशको शव बनाएर कालीगण्डकीमा अन्त्येष्टि गरिएको कालीगण्डकी गाउँपालिका–४ का वडाध्यक्ष चक्रप्रसाद पाण्डेले बताउनुभयो ।

पहिरोमा पुरिएर कालीगण्डकी गाउँपालिका–४ साविक बिर्घागाउँ विकास समितिका अध्यक्ष इमानसिंह राना, स्थानीय जिमानसिंह थापा, टीकाबहादुर थापाको मृत्यु भएको थियो भने स्थानीय प्रेमचन्द्र पाण्डेको शव अझै फेला पर्न सकिएको छैन ।

असार १३ गते घरमाथिबाट झरेको पहिरोले घर भत्किँदा गल्याङ नगरपालिका–९ साङ्लियाका यमबहादुर विकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्