पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको हो : मुख्यमन्त्री पौडेल – Janadesh Daily | ePaper

पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको हो : मुख्यमन्त्री पौडेल


वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुष्पलालको विचारको जगका कारण नै परिवर्तन सम्भव भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही अन्त्य गर्नुपर्छ भन्ने उहाँको जोडले सफलता पाएको धारणा राख्नुभएको छ ।

“नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले गर्नुभएको योगदान सदा स्मरणीय छ, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा उहाँप्रति उच्च सम्मानसहित हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

विशेषगरी प्रजातान्त्रिक शक्तिहरुसँग समेत मिलेर संयुक्तरूपमा राणाशाही व्यवस्थाको अन्त्य गर्नुपर्छ भन्नेमा उहाँको जोड रहेको थियो । आज देश अनेक विषमतालाई छिचोल्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आएको छ ।

विगतमा छिन्नभिन्न नेपालको कम्युनिष्ट आन्दोलन सङ्गठित र मजबुत हुँदै करिब दुईतिहाइ मतसहित शासनको नेतृत्व गरिरहेको छ । उहाँले सार्नुभएको विचारको जगमै यी परिवर्तन सम्भव भएको हो । राजनीतिक सङ्घर्षबाट शासनको नेतृत्व गर्ने तहसम्म आइपुग्दा निश्चय नै हाम्रो कार्यभारहरु बदलिएको छ ।

त्यसैले राजनीतिक सङ्घर्षबाट प्राप्त परिवर्तनहरु जनताले आफ्नो दैनिक जीवन व्यवहारमा महसुस गर्ने अवस्थाको सिर्जना गर्नु हाम्रो प्रमुख दायित्व हो । यसर्थ सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सङ्कल्प गरेको छ”, मुख्यमन्त्री पौडेलले भन्नुभएको छ ।

“आजको सन्दर्भमा पुष्पलालले भन्नुभएको जस्तै राष्ट्रियता, जनजीविका, सामाजिक न्यायलगायतका मुद्दाहरुमा देशभित्रका सबै पक्षहरु एकढिक्का हुँदै ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सक्दा मात्र इतिहासले सुम्पिएको कार्यभार पूरा गर्न सकिन्छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध र सुदृढ गर्न सक्दा मात्र जनताको परिवर्तनका आकाङ्क्षालाई सम्बोधन गर्न सकिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा पुनः उहाँप्रति हार्दिक सम्मान एवं श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्