लिभरपुलले चेल्सीलाई हरायो – Janadesh Daily | ePaper

लिभरपुलले चेल्सीलाई हरायो


एजेन्सी  इंग्लिस प्रिमियर लिगमा यो सिजनको च्याम्पियन बनेको मर्सिसाइड क्लब लिभरपुलले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले चेल्सीमाथि ५–३ को जित निकालेको हो ।

एनफिल्डमा लिभरपुलसँगको हारसँगै चेल्सीको शीर्ष चारको यात्रा कठिन जस्तै बनेको छ । अब चेल्सीले शीर्ष चारमा स्थान बनाउनको लागि अन्तिम खेलमा वल्भ्सलाई पराजित गर्नुपर्ने हुन्छ । तेस्रो र पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीचको खेलले पनि चेल्सीको शीर्ष चारको यात्रालाई तय गर्नेछ ।

लिभरपुलको जितमा नावी केइटा, ट्रेन्ट एलेक्सन्डर अर्नाेल्ड, जर्जिन्हो विज्नल्डम, रोवर्टाे फिर्मिन्हो र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे । चेल्सीका ओलिभर जिरुउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिसले गोल गरे ।

प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलको २३औं मिनेटमा नावी केइटाको गोलबाट लिभरपुलले खेलमा अग्रता बनाएको थियो । ३८औं मिनेटमा ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डले गोल गरेपछि लिभरपुलले अग्रता दोब्बर बनायो ।  ४३औं मिनेटमा मोहम्मद सलाहको पासमा जर्जिन्हो विज्नल्डमले गोल गरेपछि लिभरपुल खेलमा ३–० ले अघि बढ्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई खेलमा ३–१ को अवस्थामा ल्याए ।

५५औं मिनेटमा ट्रेन्ट एलेक्सन्डर अर्नाेल्डको पासमा फिर्मिन्होले गोल गरेपछि लिभरपुलले ४–१ को अग्रता बनायो । ६१औं मिनेटमा क्रिस्टियन पुलिसिसको पासमा टम्मी अब्राहमले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याए । ७३औं मिनेटमा कलुम हड्सन ओडोईको पासमा क्रिस्टियन पुलिसिसले गोल गरेपछि चेल्सीलाई ४–३ को अवस्थामा ल्याउदै खेलमा फर्कने संकेत दिएका थिए । तर, ८४औं मिनेटमा एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरेपछि चेल्सीको आशा सकिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल ५–३ ले विजयी हुन सफल भयो ।

लिभरपुलसँगको हारसँगै चेल्सी ६३ अंक जोडेर चौथो स्थानमा झरेको छ । समान ६३ अंक रहेपनि म्यानचेस्टर युनाइटेड गोल अन्तरमा तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९६ अंक पुगेको छ । च्याम्पियन बनेको लिभरपुलले यही खेलपछि नै प्रिमियर लिगको ट्रफी उचालेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्